बारा,१७ वैशाख। अमलेखगञ्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज – १६ का २६ वर्षीय सिद्धान्त पटेल र भारतको माोतिहारी जिल्लाको मलाहीका २३ वर्षीय नितिश कुमार ठाकुर रहेका छन् ।
उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल २९ हजार ६५० पिस बरामद भएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मङ्गलवार दिउँसो वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बीआर ०५ बीए ४८१७ नम्बरको कार अमलेखञ्जस्थित प्रहरी चेकपोस्ट अगाडि प्रहरी वरिष्ठ नायब निरीक्षक कार्की नेतृत्वको टोलीले रोकेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उक्त कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल २९ हजार ६५० पिस बरामद भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
कारबाट लागूऔषध बरामद भएपछि कारसहित कारका चालक भारतीय नागरिक नितिश र कारामा सवार वीरगञ्जका सिद्धान्तलाई प्रहरीले नियन्त्रणमा लिएको पण्डितले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।