रमेश कुमार यादब
बैशाख १८, रौतहट
रौतहट जिल्लाको ग्रामीण भेगमा किसानहरूले कालोपत्रे सडकमा मकै तथा अन्य अन्नबाली सुकाउने क्रम तीव्र हुँदै गएको छ । यो प्रवृत्तिका कारण यातायात सुरक्षामा गम्भीर चुनौती देखिन थालेको छ ।त्यति मात्र नभएर कालोपत्रे सडकहरूमा जथाभावी रूपमा मकै र अन्य अन्नबाली सुकाउने कार्यले दुर्घटनाको जोखिम समेत बढाएको छ । सडकमा अन्नबाली सुकाउँदा विशेषगरी रातको समयमा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
अहिले जिल्लाको बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ । बृन्दावन नगरपालिकाको वार्ड नं. ३ निवासी किसान
सत्यनारायण यादव (ब्यास)का अनुसार खेतमा उत्पादन भएको मकै राम्रोसँग सुकाउन सजिलो हुने भएकाले सडकमा नै सुकाउने गरिएको हो ।
“एकैपटक भित्याएको मकै गुन्द्री र त्रिपालमा सुकाउन गाह्रो पर्छ,“ यादवले भन्नुभयो, “सडक त घाम राम्रो लाग्ने र सिधा छ, त्यसैले छिटो सुक्छ । व्यापारीहरू पनि सडकबाटै मकै उठाएर लैजान्छन्, हामीलाई पनि सजिलो हुन्छ ।“ यस वर्ष यादवले २ बिगाहा जमिनमा हाइब्रिड जातको मकै लगाउनुभएको थियो । उहाँले त्यो मकै खेत छेउकै सडकमा सुकाएर स्थानीय व्यापारीलाई बेचिसक्नुभएको जानकारी दिनुभयो ।
तर, सडकमा मकै सुकाउँदा केही स्थानमा त आधा सडक नै ढाकिएको देखिन्छ । यातायात सुरक्षामा खटिएका एक स्थानीय सुरक्षाकर्मीले रातिको समयमा गस्ती गर्दा ठूला–ठूला मकैका थुम्साहरू सडकभरि छरिएको अवस्थामा देखिने गरेको बताउनुभयो । “रातको समय, झ्याल अन्धकार अनि सडकभरि बिस्कुन छरिएको छ,” उहाँले भन्नुभयो, “यसले त सिधै दुर्घटनाको कारण बन्न सक्छ, विशेषगरी मोटरसाइकल र साइकल चढ्ने यात्रुहरूका लागि ।
” स्थानीय निकायले पटकपटक सडकमा यस्ता कार्य नगर्न अनुरोध गरे पनि पर्याप्त निगरानी र कारवाही नहुँदा समस्या दिनानुदिन बढिरहेको छ । यातायात विद्हरूका अनुसार सडकमै अन्न सुकाउने कार्यले चालकहरूको ध्यान भंग गराउँछ र ब्रेक लगाउन ढिलो हुँदा दुर्घटना हुनसक्छ ।
स्थानीय सरकार र प्रहरी प्रशासनले यो समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक अन्न सुकाउने स्थल निर्माण गर्ने योजना बनाउनु आवश्यक रहेको विज्ञहरूको भनाइ छ । यदि तत्काल नियन्त्रण गरिएन भने यो प्रवृत्तिले ग्रामीण सडकमा ज्यान गुमाउने दुर्घटनाको जोखिमलाई अझ बढाउने निश्चित देखिन्छ ।