जनकपुर,२० वैशाख। जानकी जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले सरकारसँग माग गरेको छ ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै छोटा महन्त वैष्णवले सानातीना पर्वमा सार्वजनिक बिदा दिने गरेको भएपनि सरकारले जानकी जन्मोत्सको उपेक्षा गरेको गुनासो गरे । उनले सरकारको ध्यानाकर्षण गराउन आज जनकपुरधाममा प्रदर्शन गर्ने जानकारी गराए ।
‘सानो पर्वमा पनि सरकार सार्वजनिक बिदा दिदै आएको छ,’ छोटा महन्त वैष्णवले भने, ‘तर जानकी जन्मोत्समा विदा नदिएपछि दुःख लागेको छ ।’
उनले फाल्गुन ७ मै साधुसन्तले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएर जानकी जन्मोत्सवको अवसरमा विदा दिन माग गरेपनि चासो नदेखाएको गुनासो गरे ।
यसवर्ष वैशाख २३ गते जानकी जन्मोत्सव परेको छ । त्रेतायुगमा धर्तीबाट माता जानकी प्रकट भएको मानिन्छ । त्यसैले जनकपुरधाममा धुमधामसँग जानकी जन्मोत्सव मनाइन्छ ।
जानकी मन्दिरले जानकी जन्मोत्सवको अवसरमा साताव्यापी धार्मिक कार्यक्रमको आयोजना गर्दै आएको छ । जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ ।
छोटा महन्त वैष्णवका अनुसार जानकी जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।