पर्साबाट मानव बेचबिखनमा संलग्न एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २०, शनिबार (१० महिना अघि)
  • ३ पटक पढिएको
पर्साबाट मानव बेचबिखनमा संलग्न एकजना पक्राउ

पर्सा,२० वैशाख। जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ निवासी २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङ रहेका छन्।

प्रहरीका अनुसार वैशाख १७ गते वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट नजिकैको सडकखण्डमा ईनर्वा प्रहरी चौकीको चेकिङ टोलीले नेपालबाट भारत जाँदै गरेका एक पुरुष र एक युवतीलाई रोकी सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा व्यवहार शंकास्पद देखिएपछि दुबैलाई जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याएर थप अनुसन्धान गर्दा उक्त युवतीलाई तामाङले वीरगञ्ज नजिकैको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने बहानामा भारत लैजाँदै गरेको र बेचबिखनको नियत रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

युवतीको गोपनीयता कायम राख्दै नाम र ठेगाना सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले मानव बेचबिखनका घटनामा संलग्न व्यक्तिहरूलाई कडाइका साथ निगरानी र कारबाही गरिने बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस