पर्सा,२० वैशाख। सशस्त्र प्रहरी बल, नेपाल पर्साले श्रोत नखुलेको नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले आज साँझ वीरगञ्ज भन्सार कार्यालय नजिकै सवारी चेकजाँचको क्रममा भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन्।
उनीहरूलाई सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिई भन्सार तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा रकम ओसारपसार हुने गतिविधि अझै सक्रिय रहेको संकेत गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।