रमेश कुमार यादब
बैशाख २०, रौतहट
नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज अजय गुप्ताले जनताको विश्वास जित्न सफल भएकै कारण नेकपा एमाले आज देशकै पहिलो शक्ति बनेको दाबी गर्नु भएको छ ।शनिबार गरुडा नगरपालिका(१, जयनगरमा आयोजित पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्दै गुप्ताले विगतको निर्वाचनमा एमालेमाथि विभिन्न खालका घेराबन्दी गरिए पनि जनताले पार्टीप्रति गहिरो भरोसा राखेर सबै अवरोध पार गर्दै एमालेलाई ठूलो पार्टी बनाएको स्मरण गर्नुभयो ।

“२०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गरेर स्थिर सरकार बनाउने छ,” उहाँले भन्नुभयो, “स्थिर सरकार बिना देशको समृद्धि सम्भव छैन, त्यसैले अबको निर्वाचनमा जनताको समर्थन अझ सशक्त रूपमा एमालेलाई प्राप्त हुने विश्वास छ।
”गुप्ताले रौतहट जिल्लाका नेता तथा कार्यकर्ताहरूको योगदानलाई विशेषरूपमा स्मरण गर्दै पार्टी रहुञ्जेलसम्म यस्ता समर्पित व्यक्तित्वहरूलाई विस्मरण गर्न नसकिने बताउनु भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद जैसवालले आगामी निर्वाचनपछि एमालेको एकल बहुमतसहितको सरकार बन्ने दाबी गर्दै, त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरू एकजुट भई इमान्दारीपूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । “एमाले नेतृत्वको सरकारले विगतमा गरेका विकास निर्माणका कामहरू जनतालाई थाहा छ । अब जनता फेरि त्यही नेतृत्व खोज्दै छन्,” नगरप्रमुख जैसवालले भन्नुभयो । उहाँले थप भन्नुभयो, “हामी गरुडा नगरमा एमालेको नीतिअनुसार जनमुखी योजना कार्यान्वयन गरिरहेका छौं ।

नागरिकले प्रत्यक्ष अनुभव गर्नसक्ने विकासका कामहरू अघि बढाएका छौं ।“उहाँले नगरमा आफूले एमालेको नीति र योजनाअनुसार काम गर्दै आएको उल्लेख गर्दै जनताले अनुभूत गर्ने किसिमले सेवा प्रवाह भइरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रवेश गरेका लोसपा, नेकपा एस, नेपाली काँग्रेस लगायत विभिन्न दलका करिब ३०० जना कार्यकर्तालाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा नवआगन्तुकहरूलाई खादा, माला र टीका लगाएर जिल्ला इञ्चार्ज गुप्ता र नगरप्रमुख जैसवालले स्वागत गर्नुभएको थियो ।कार्यक्रमको अध्यक्षता नेकपा एमाले जयनगर वडाअध्यक्ष शेख जाजुलले गर्नुभएको थियो भने स्थानीय नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।पार्टी प्रवेशका क्रममा धेरै नवप्रवेशीहरूले एमालेमा आबद्ध भएर संगठनलाई अझ मजबुत बनाउने र आगामी निर्वाचनमा जित दिलाउन आफ्नो भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता जनाए।
जनसभाका क्रममा पार्टी प्रवेश गर्नेहरूमध्ये महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने युवा वर्गमा पनि उत्साह देखिएको थियो। कार्यक्रमले एमालेको सांगठानिक विस्तार र आगामी निर्वाचनका लागि रणनीतिक ऊर्जा थपेको स्थानीय नेताहरूको धारणा छ।
