पर्सा,२५ वैशाख। जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ३१ बेलवा प्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत अप्रिल १ तारिखमा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
श्रीमतिको मञ्जुरी बिना जवरजस्ती करणी गरेको आरोपमा अन्सारी विरुद्ध २०८१ मंसिर १९ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि फरार रहेका २९ वर्षीय उनलाई पक्राउ गर्न पर्सा प्रहरीको अनुरोधमा इन्टरपोल शाखाले पक्राउ गर्न पहल गरेको थियो ।
‘प्रतिवादी समसुदिन अंसारी र पीडित बिच जातिय परम्परा अनुसार विवाह भएकोमा पीडितको माईतीले भने बमोजिम दाइजो नदिएको विषयलाई लिएर प्रतिवादीले पीडितलाई बारम्बार कुटपिट गर्ने, गालीगलौच गर्ने, चासपूर्ण व्यवहार गर्ने, यौनदुव्र्यवहार गर्ने, आफ्नै डेराकोठामा सुतिरहेको अवस्थामा प्रतिवादी उक्त कोठामा आई कोठाको ढोका बन्द गरी पीडितलाई विभिन्न धाकधम्की दिई डरत्रासमा पारी पीडितको मञ्जुरी विना जवरजस्ती करणी गरेको’ प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।