वर्तमानकाल सम्वादाता
बैशाख २९ गते ।
खानेपानीमन्त्री प्रदीप यादवले देशभर खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् ।बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री यादवले देशभरीका खानेपानीका समस्या समाधानका लागि आफूसहित सिङ्गो मन्त्रालयको टिमले काम गरीरहेको बताए ।
मन्त्री यादवले आफूले मन्त्रालय सम्हाले पछि देशका विभिन्न स्थानमा रोकिएका एवं अधुरा रहेका खानेपानी आयोजनाहरु सञ्चालनमा आएको र अन्य आयोजना निर्माणको चरणमा रहेको जानकारी दिएका छन् । पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय निरन्तर लागिपरेको मन्त्री यादवले उल्लेख गरे।
नागरिकले अनुभूति गर्न सक्ने खानेपानी सेवामा सुधार ल्याउनेतर्फ सरकार प्रतिबद्ध रहेको समेत मन्त्री यादवले बताएका छन् ।
कलैया उपमहानगरपालिका अन्तर्गतका वडा नं १५, २६ र २७ मा सञ्चालन हुने यो आयोजना यहाँका नागरिकहरूको खानेपानीका क्षेत्रमा दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको जानकारी दिदै मन्त्री यादबले हामी सबै मिलेर ‘स्वच्छ पानी, स्वस्थ जीवन’ को अभियानलाई सार्थक बनाऔँ । महेशपुरको समृद्धि हाम्रो साझा यात्रा रहे भने ।
तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको र विशेषगरी तराई–मधेशका बारा, पर्सा, रौतहट लगायतका अन्य जिल्लाहरुमा पनि पछिल्लो समय खानेपानीको गम्भीर समस्या देखिएकाले ती क्षेत्रमा खानेपानीका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिन थालिएको मन्त्री यादवको जानकारी दिएका छन् ।
आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए ।
कार्यक्रममा बारा क्षेत्र नं। ३ का सांसद ज्यालाकुमारी साह, बारा क्षेत्र नं। ३ का सांसद रामवावुकुमार यादव, प्रदेश सभासदस्य महमदसमिर मीयाँ सवितदास श्रेष्ठ, वीरगञ्ज महानगर प्रमुख राजेश मान सिंह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, लगायतका नेता एवं स्थानीयवासीको सहभागिता रहेको थियो ।
खानेपानी क्षेत्रमा देखिने र अनुभूति हुने काम भइरहेको छ : मन्त्री यादव
