नगर प्रमुख कुर्मीको सक्रियतामा विकासले गति लिंदै, उज्यालो नगरको दिशामा ठोस कदम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख ३०, मंगलबार (९ महिना अघि)
  • ४ पटक पढिएको
नगर प्रमुख कुर्मीको सक्रियतामा विकासले गति लिंदै, उज्यालो नगरको दिशामा ठोस कदम

रमेश कुमार यादब
बैशाख ३०, रौतहट

बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले निर्वाचित हुनुअघि जनतासामु गरेका वाचा र प्रतिबद्धताहरूलाई क्रमशः कार्यान्वयन गर्दै जानु भएको छ । विकास, पूर्वाधार निर्माण र समृद्धिको दिशामा अग्रसर नगर प्रमुख कुर्मीको नेतृत्वमा हाल बृन्दावन नगरपालिकाले चौतर्फी प्रगति गरिरहेको छ । नगरभित्र पुल, पुलिया, सडक विस्तार, ढल व्यवस्थापन, शुद्ध खानेपानी, र धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण र विकासलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा कार्यहरू अगाडि बढाइएका छन् । यसै सन्दर्भमा नगरलाई उज्यालो बनाउन विभिन्न स्थानहरूमा सडक बत्ती जडानको कार्य तीव्र रूपमा भइरहेको छ ।

यही क्रममा मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरी बृन्दावन नगरपालिका वडा नं. १ र २ को सिमानामा अवस्थित श्री सितेश्वरनाथ मन्दिर प्राङ्गणमा करिब १० लाख रुपैयाँ लागतमा जडान गरिएको अत्याधुनिक टावर लाइट बत्तीको उद्घाटन नगर प्रमुख कुर्मीले गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले भने, “नगरलाई उज्यालो बनाउने हाम्रो मुख्य लक्ष्य हो । यस टावर बत्तीले मन्दिर परिसरसहित आसपासको क्षेत्र उज्यालो बनाउनेछ, जसले अपराधिक गतिविधिहरूमा समेत कमी ल्याउनेछ ।“

उहाँले धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रवद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । त्यस्तै, चाँदी पुल नजिकै रहेको ऐतिहासिक चमरदेवी माईको मन्दिर पुनर्निर्माण गर्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने प्रतिवद्धता पनि नगर प्रमुखले जनाउनु भयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिने र नियमित पूजाआजा तथा सुविधासम्पन्न बनाइने योजना समेत सार्वजनिक गरिएको छ ।

साथै, नगर प्रमुख कुर्मीको पहलमा चमरदेवी मन्दिर नजिकै रहेको कच्ची सडकलाई कालोपत्रे गर्ने तयारी समेत अगाडि बढाइएको छ । सो बाटोलाई कालोपत्रे गर्नुअघि आफ्नै उपस्थितिमा सडकको प्राइम गर्ने काम सुरू गरिएको छ । नगरवासीहरूले नगर प्रमुख कुर्मीको कामप्रति सन्तोष र प्रशंसा व्यक्त गरेका छन् । उनीहरूले उहाँको योजनाबद्ध र जनमुखी नेतृत्वले बृन्दावन नगरपालिका विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

स्थानीयवासी सुरेन्द्र पटेलले भने, “पहिलेदेखि अँध्यारो रहेको मन्दिर परिसरमा अहिले टावर बत्ती जडान भएपछि हामी धेरै खुसी भएका छौं । अब त पर्व(तिहारमा यहाँको माहोल नै फरक हुने भयो ।“ यसरी बृन्दावन नगरपालिकामा नगर प्रमुख कुर्मीको नेतृत्वमा विकासको नयाँ लहर छाउँदै गएको स्पष्ट देखिन थालेको छ । स्थानीय पूर्वाधार, धार्मिक स्थल र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका योजनाहरू क्रमशः कार्यान्वयन हुँदैछन् ।


यसले बृन्दावन नगरपालिकालाई आगामी दिनमा एक समृद्ध र आत्मनिर्भर नगरका रूपमा चिनाउने विश्वास गरिएको छ । कार्यक्रममा नेकपा एस रौतहटको जिल्ला कमिटि सचिव बालकृष्ण श्रेष्ठ, शिक्षा संयोजक उपेन्द्र महतो, भु्पु सैनिक संगठनका उपमहासचिव कृष्ण खड्का , पुर्व जिकस प्रेमलाल राउत, सरोज हुमागाईं , अमिन्द्र पटेल,स्थानिय यूवा लालबाबु पटेल , रामशरण पटेल सहित स्थानिय बासि तथा यूवाहरुको उपस्थित रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस