रमेश कुमार यादब
बैशाख ३०, रौतहट
बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले निर्वाचित हुनुअघि जनतासामु गरेका वाचा र प्रतिबद्धताहरूलाई क्रमशः कार्यान्वयन गर्दै जानु भएको छ । विकास, पूर्वाधार निर्माण र समृद्धिको दिशामा अग्रसर नगर प्रमुख कुर्मीको नेतृत्वमा हाल बृन्दावन नगरपालिकाले चौतर्फी प्रगति गरिरहेको छ । नगरभित्र पुल, पुलिया, सडक विस्तार, ढल व्यवस्थापन, शुद्ध खानेपानी, र धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण र विकासलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा कार्यहरू अगाडि बढाइएका छन् । यसै सन्दर्भमा नगरलाई उज्यालो बनाउन विभिन्न स्थानहरूमा सडक बत्ती जडानको कार्य तीव्र रूपमा भइरहेको छ ।
यही क्रममा मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरी बृन्दावन नगरपालिका वडा नं. १ र २ को सिमानामा अवस्थित श्री सितेश्वरनाथ मन्दिर प्राङ्गणमा करिब १० लाख रुपैयाँ लागतमा जडान गरिएको अत्याधुनिक टावर लाइट बत्तीको उद्घाटन नगर प्रमुख कुर्मीले गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले भने, “नगरलाई उज्यालो बनाउने हाम्रो मुख्य लक्ष्य हो । यस टावर बत्तीले मन्दिर परिसरसहित आसपासको क्षेत्र उज्यालो बनाउनेछ, जसले अपराधिक गतिविधिहरूमा समेत कमी ल्याउनेछ ।“

उहाँले धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रवद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । त्यस्तै, चाँदी पुल नजिकै रहेको ऐतिहासिक चमरदेवी माईको मन्दिर पुनर्निर्माण गर्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने प्रतिवद्धता पनि नगर प्रमुखले जनाउनु भयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिने र नियमित पूजाआजा तथा सुविधासम्पन्न बनाइने योजना समेत सार्वजनिक गरिएको छ ।

साथै, नगर प्रमुख कुर्मीको पहलमा चमरदेवी मन्दिर नजिकै रहेको कच्ची सडकलाई कालोपत्रे गर्ने तयारी समेत अगाडि बढाइएको छ । सो बाटोलाई कालोपत्रे गर्नुअघि आफ्नै उपस्थितिमा सडकको प्राइम गर्ने काम सुरू गरिएको छ । नगरवासीहरूले नगर प्रमुख कुर्मीको कामप्रति सन्तोष र प्रशंसा व्यक्त गरेका छन् । उनीहरूले उहाँको योजनाबद्ध र जनमुखी नेतृत्वले बृन्दावन नगरपालिका विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

स्थानीयवासी सुरेन्द्र पटेलले भने, “पहिलेदेखि अँध्यारो रहेको मन्दिर परिसरमा अहिले टावर बत्ती जडान भएपछि हामी धेरै खुसी भएका छौं । अब त पर्व(तिहारमा यहाँको माहोल नै फरक हुने भयो ।“ यसरी बृन्दावन नगरपालिकामा नगर प्रमुख कुर्मीको नेतृत्वमा विकासको नयाँ लहर छाउँदै गएको स्पष्ट देखिन थालेको छ । स्थानीय पूर्वाधार, धार्मिक स्थल र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका योजनाहरू क्रमशः कार्यान्वयन हुँदैछन् ।
यसले बृन्दावन नगरपालिकालाई आगामी दिनमा एक समृद्ध र आत्मनिर्भर नगरका रूपमा चिनाउने विश्वास गरिएको छ । कार्यक्रममा नेकपा एस रौतहटको जिल्ला कमिटि सचिव बालकृष्ण श्रेष्ठ, शिक्षा संयोजक उपेन्द्र महतो, भु्पु सैनिक संगठनका उपमहासचिव कृष्ण खड्का , पुर्व जिकस प्रेमलाल राउत, सरोज हुमागाईं , अमिन्द्र पटेल,स्थानिय यूवा लालबाबु पटेल , रामशरण पटेल सहित स्थानिय बासि तथा यूवाहरुको उपस्थित रहेको थियो ।