रमेश कुमार यादब
बैशाख ३०, रौतहट
गरुडा नगरपालिकामा कार्यरत अमिन रामजी साहको करेन्ट लागी निधन भएपछि उनको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालकोे पहलमा स्व. साहको परिवारलाई उक्त रकम नगरपालिकाको कोषबाट उपलब्ध गराइएको हो।
विशेष कार्यक्रमको आयोजना गरी नगर प्रमुख जैसवालले स्वर्गीय साहकी पत्नी रुनी कुमारी साहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे। कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कर्मचारी, स्थानीय प्रतिनिधिहरू तथा मृतकका परिवारजनहरूको उपस्थिति थियो । नगर प्रमुख जैसवालले कार्यक्रममा बोल्दै भने, “हामीले अमिन साह जस्तो इमानदार र लगनशील कर्मचारी गुमाएका छौं ।
उहाँको परिवारको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश्यले यो सहयोग गरिएको हो ।” उनले यस्ता दुःखद घटनाबाट भविष्यमा कसैको जीवन नजाओस् भन्ने हेतुले सुरक्षा उपायमा पनि कडाइ गरिने बताएका थिए । २५ वर्षीय रामजी साहको केही महिना अघि गरुडा नगरपालिकामा निर्माणाधीन एक भवनको नापजाँच गर्ने क्रममा दुर्घटनावश छत माथिबाट गएको १२ हजार भोल्टको विद्युत् तारमा छोइएर करेन्ट लाग्दा घटनास्थलमै निधन भएको थियो ।
साह आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा ज्यान गुमाएका थिए । स्व. रामजी साहको परिवारमा उनकी पत्नी र एक छोरी,छोरा हुन । साहको निधनपछि परिवार आर्थिक र मानसिक पीडामा परेकाले नगरपालिकाको यो सहयोगप्रति परिवारजनले आभार व्यक्त गरेका छन् । नगरपालिकाले आगामी दिनमा कर्मचारीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्ने र जोखिमयुक्त कार्यमा लाग्ने कर्मचारीहरूलाई पूर्वसावधानीसहित आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।