वर्तमानकाल सम्वादाता
बैशाख ३१, रौतहट
सामाजिक सञ्जालको गलत प्रयोगले नेपालमा धार्मिक सद्भावमा खलल पु¥याउने खतरनाक संकेत देखिन थालेको छ। पछिल्लो समय भारत–पाकिस्तानको द्वन्द्वको छायाँमा परेर नेपालका केही तथाकथित हिन्दु र मुस्लिम युवाहरू सामाजिक सञ्जालमा एकअर्काको धर्मप्रति आपत्तिजनक अभिव्यक्ति दिँदै अराजकता मच्चाइरहेका छन्। टिकटक जस्ता प्लेटफर्ममा धार्मिक भावना भड्काउने भिडियोहरू भाइरल हुँदै गर्दा रौतहटको गौर नगरपालिका–४ का १६ वर्षीय साजिद खानलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। उनले हिन्दू धर्म मान्नेहरूलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्दै भिडियो बनाएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले भने, “धार्मिक सद्भाव भड्काउने खालका गतिविधि कुनै हालतमा स्वीकार्य हुँदैन। यस विषयमा थप अनुसन्धान भइरहेको छ।” उक्त भिडियो सार्वजनिक भएपछि गौरका स्थानीयहरूमा आक्रोश फैलिएको थियो। सामाजिक सञ्जालमा व्यापक विरोधपछि प्रहरी प्रशासनले कारबाही अघि बढाएको हो। स्थानियले धार्मिक सहिष्णुतामाथि हमला गर्ने प्रयासको कडा विरोध गर्दै यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, अर्को एक भिडियोमा आफूलाई हिन्दु भनेर चिनाउने एक युवकले मुस्लिम धर्मावलम्बीप्रति आपत्तिजनक भाषा प्रयोग गरेको देखिन्छ। ‘टिकटको खुनी १४’ नामक टिकटक आइडीबाट सार्वजनिक गरिएको उक्त भिडियोमा स्पष्ट रूपमा साम्प्रदायिक द्वेष फैलाउने आशय देखिन्छ। हालसम्म ती युवक पक्राउ परेका छैनन्, तर प्रहरी स्रोतले खोजी कार्य जारी रहेको जनाएको छ। समाजशास्त्रीहरू यसप्रकारको घटनालाई गम्भीर सामाजिक संकटको संकेत मान्छन्।
डा. अरुण साह भन्छन्, “धर्मको नाममा घृणा फैलाउने सञ्जालिया अभ्यासले समाजमा गहिरो विभाजन ल्याउन सक्छ। राज्य संयन्त्रले यस्ता तत्वहरूलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ।” यसबाहेक, शिक्षाविद्हरू र युवासंगठनहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र आपसी सम्मानको संस्कार विकास गर्न विद्यालय र समुदायस्तरमै चेतना फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपालको बहुल धार्मिक समाजमा धार्मिक सहिष्णुता, आपसी सम्मान र कानूनी अनुशासन अनिवार्य पक्ष हुन्। व्यक्तिगत आस्थालाई सम्मान गर्दै सार्वजनिक माध्यममा संयमित व्यवहार गर्नु नै दीर्घकालीन शान्ति र सद्भावको आधार हो