वर्तमानकाल सम्वाददाता
बैशाख ३१, रौतहट
रौतहट जिल्लामा ससुरा पक्षबाट दुई छुट्टाछुट्टै महिलाको शंकास्पद मृत्यु भएका घटनाले महिला हिंसा र दाइजो प्रथामाथि गम्भीर प्रश्न उठाएको छ। दुवै घटनामा पीडित महिलाका माइती पक्षले ससुरा पक्षमाथि हत्या आरोप लगाएका छन्। कटहरिया नगरपालिका–५ स्थित बजार क्षेत्रमा गत आइतवार २१ वर्षीया सानिया प्रविन मृत अवस्थामा फेला परेकी थिइन्। ससुरा पक्षको घरमा उनी साडीको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
प्रहरीका अनुसार शवको पोष्टमार्टम प्रादेशिक अस्पताल गौरमा गरिएको छ। मृतककी आमा कायमा खातुनका अनुसार सानियाको करिब ६ महिनाअघि अरमान राय भाटसँग मुस्लिम परम्पराअनुसार विवाह भएको थियो। विवाहपश्चात् दाइजोको नाममा निरन्तर शारीरिक तथा मानसिक यातना दिइँदै आएको भन्दै उनले छोरीको हत्या गरेर आत्महत्या देखाउन खोजिएको दाबी गरेकी छन्। इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोलीले घटनास्थलको मुचुल्का तयार गरेको थियो।
हाल माइती पक्षले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिने प्रक्रिया अघि बढाएको छ। डिएसपी राजन कार्कीले भने घटना शंकास्पद भएको र अनुसन्धानपछि मात्र निष्कर्षमा पुगिने बताएका छन्। यसअघि, नयाँ वर्षको पहिलो दिन रौतहटको गढीमाई नगरपालिका–४ की अल्का ठाकुरको मृत्यु भएको थियो। उनका माइती पक्षले पत्रकार सम्मेलन गरी ससुरा पक्षले हत्या गरेको आरोप सार्वजनिक गरेका थिए।
अल्काको विवाह २०७६ जेठ ५ गते दुर्गाभगवती गाउँपालिका–३ का संजीव झासँग भएको थियो। विवाहपछि सात वर्ष बितिसक्दासमेत केटा पक्षले विवाह दर्ता नगरेको र अन्ततः वैवाहिक सम्बन्ध नै अस्वीकृत गरेपछि तनाव चुलिँदै गएको माइती पक्षको भनाइ छ। यही पारिवारिक विवादबीच उनको मृत्यु भएको हो। दुवै घटनाका पीडित परिवारले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
दुवै घटनाका पीडित परिवारले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। दिनदिनै महिलामाथि यसरी दाइजोका नाममा हिंसा, मानसिक यातना र ज्यानसम्म लिने घटनाहरू बढ्दै जानु अत्यन्तै दुखद र चिन्ताजनक विषय हो। यस्ता घटनाले हाम्रो समाजमा महिला अधिकार, आत्मसम्मान र सुरक्षित पारिवारिक जीवनको कल्पनालाई नै चुनौती दिएको छ।
सङ्घीयदेखि स्थानीय सरकारसम्म, प्रहरी प्रशासन र न्याय प्रणालीले यस्ता अपराधमाथि गम्भीर ढङ्गले ध्यान दिएर दोषीलाई कडा
कारबाही नगरेसम्म पीडितले न्याय पाउने आशा टाढा हुने देखिन्छ। साथै, दाइजो प्रथाको अन्त्य र महिला सुरक्षाका लागि सामाजिक चेतनाको बृहत अभियान आवश्यक देखिन्छ।