सर्लाही,०३ जेठ। हावाहुरीबाट सर्लाहीको विभिन्न स्थानमा सवारी साधन क्षति हुनुका साथै केही मानिसहरु घाइते भए ।
हावाहुरीबाट विभिन्न स्थानहरुमा रुखहरु ढलेर अबरुद्ध बनेका भित्री सडक तथा प्रमुख राजमार्गहरुमा प्रहरीले तत्कालै रुखहरुको हाँगा हटाएर बाटोलाई सुचारु बनाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
इलका प्रहरी कार्यालय हरिवनको कार्यालय परिसरमा पार्किङ गरी राखिएका दुई वटा मोटरसाइकल माथि रुख ढल्दा बाइकमा क्षति भएको छ । ढलेका रुखलाई हटाउदा उक्त मोटरसाइकलको ट्याँकी, भाइजर लगायतका पार्टमा क्षति भएको जनाएको छ ।
यस्तै इश्वरपुर नगरपालिका वडा नम्वर १२ पूर्व पश्चिम लोकमार्गको दोश्रो लच्का नजिकै बाँकेबाट लालबन्दी तर्फ जाँदै गरेका म.प्र.–०४–००१ च ०२७७ नं.को पिकअप गाडी सडक छेउमा रुख ढलेपछि अचानक ब्रेक लगाउदा अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना भए । प्रहरी चौकी फुलजोरबाट खटिएको प्रहरी टोलीले रुखका हाँगाहरु हटाएर पिकअप निकाली फुलजोरमा राखिएको पिकअप चालक पर्सा गाउँपालिका वडा नम्वर ४ का ३५ बर्षीय राजनारायण महतोको सामान्य घाइते भएको तथा रुख हटाएर बाटो सुचारु बनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले दिए ।
हरिपुर नगरपालिका वडा नम्वर २ सानो जगतपुर स्थित भित्री सडकमा मलंगवाबाट घुरकौली तर्फ जादै गरेका हरिवन नपा ५ का १८ बर्षिय बलिराम महतोले चलाईरहेका बा ४० प १५३० र ५२ बर्षीय गंगाराम महतोले मधेश प्रदेश २–००७ प ८३८६ चलाईरहेका बाइक माथि रुखको हाँगा खसेर घाइते भए । दुबै जनालाई चोटपटक लाग्दा नमुना अस्पताल हरिवनमा उपचार गराई राति नै डिष्चार्ज भई घर फर्किसकेको उनले जानकारी दिए ।
यसैगरी वागमती नगरपालिका २ का ३८ बर्षीय नवराज राय क्षेत्री आफनै मकै वारीमा काम गर्ने क्रममा बकाइनको रुखको हाँगा उनी माथि खस्दा ढाँडमा चोट लागेपछि नमूना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर तर्फ लगियो । हरिवन नपा ५ घुर्कौलीमा शेख अबासको ७५ बर्षीया श्रीमती दलेमुन खातुन जस्तापाताबाट सामान्य घाइते भएको बताइएको छ ।
यस्तै हावाहुरीबाट रुख ढलेर बरहथवा नपा ९ बरहथवा नयाँरोड मधुबनी सडकखण्ड अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त टोलीले बाटो रुखलाई हटाएर बाटो सुचारु गराइएको डिएसपी राईले तराई टप लाई बताए ।
हावाहुरीबाट गोडैता नपा १२ मधुवनी गाउँ स्थित रहेका चोकमा मुन्ना सिंहको जग्गामा रामनगर गापा ७ उमेश साहले भाडामा लिएर संचालन गरेको होटल भत्किदा करिव ६० हजारको भौतिक सम्पत्ती क्षति भएपनि मानविय क्षति भएन ।
हरिपुर्वा नगरपालिका वडा नम्वर ६ का रामप्रसाद साहको ५० बर्षीया श्रीमती सुमी देवीलाई हावाहुरीले उडाएर दुई तल्ले घरबाट खसाउदा हात, मुख र आँखामा चोट लाग्दा प्राथमिक उपचार पछि थप उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको डिएसपी राईले बताए । उनको अवस्थामा मध्यम रहेको बताउदै हावाहुरीबाट भएका क्षतिहरुको विवरण आउने क्रम जारी रहेको स्पष्ट पारे ।


