सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रियामा चलखेलको आशंका

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ४, शनिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वीरगञ्ज,०३ जेठ। सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा बढुवालाई लिएर व्यापक चलखेल र सत्ता निकटता आधार बनेको आशंका बढ्दो छ। सीमा सुरक्षा विभागका तत्कालीन एआईजी चन्द्रप्रकाश गौतमको अनिवार्य अवकाश पछि रिक्त भएको पदमा आठ जना डिआइजीहरूले आवेदन दिएका छन्। तर, एक महिनासम्म बढुवा प्रक्रिया अघि नबढाइने परिस्थिति प्रश्नको घेरामा परेको छ।

सरकारी निर्णय प्रक्रियामा प्रभाव जमाइरहेका भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईका नातेदार कमल गिरीको नाम सशंकास्पद रूपमा अगाडि देखिएको स्रोतहरूले जनाएका छन्।

कमल गिरी डिआइजी पदमा पदोन्नति हुदा पाँचौँ नम्बरको बरियतामा रहे पनि, तत्कालीन सत्ताको पहुँच प्रयोग गरी पहिलो नम्बरमा उक्लिएका थिए। जबकि सो समयमा गणेश ठाडा मगर बरियतामा पहिलो स्थानमा थिए।

गिरीको कार्यकाललाई विभिन्न विवादले घेरेको छ। उनी सप्तरीका एसपी हुँदा ज्यादतीको आरोपमा परेका थिए, जसको उजुरी मानव अधिकार आयोगसम्म पुगेको थियो। साथै, २०७२ सालमा संयुक्त राष्ट्रसंघ (UN) को हैटी मिसनमा खटिँदा रक्सी सेवन गरी वरिष्ठ अधिकृतलाई खुकुरी देखाएर धम्क्याएको आरोपमा युएनले कारबाही गरी फिर्ता पठाएको प्रमाणहरू रहेका छन्।

यस्तै, मिडिया नियन्त्रण गर्न घुमुवा प्रयोग गरी नियमित रकम बैंकमार्फत पठाएको, सीमापारिबाट हतियार ल्याई नाटक गरेको, तथा अनुशासनहीन र अराजकतापूर्ण गतिविधिमा संलग्न रहेको आरोप पनि उनका नाममा छ।

बरियतामा अगाडि रहँदै आएका गणेश ठाडा मगरको कार्यशैली पूर्णतः व्यावसायिक रहेको स्रोतहरूको दाबी छ। उनले माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जा जस्ता संवेदनशील जिल्लामा सफल अपरेसनहरू संचालन गरेका थिए।

बेसिक तालिममा सर्वोत्कृष्ट ठहरिएका ठाडा मगरले भारत, चीन, इटाली लगायतका देशबाट व्यवस्थापन, मानव अधिकार तथा नेतृत्व सम्बन्धी उच्च तालिम लिएका छन्। उनी कमाण्ड तथा स्टाफ कलेजको प्रमुख समेत भइसकेका छन् र हालका प्रतिस्पर्धी सुरेश श्रेष्ठ लगायतलाई तालिम प्रदान गरेका थिए।

उनले २०७८ र २०८१ सालमा क्रमशः बाग्मती र मधेशस्थित बाहिनीको नेतृत्व गर्दै सर्बोत्कृष्ट बाहिनी घोषणा गराएका थिए, जसको मूल्यांकनमा गिरि भने छठौँ र सातौँ स्थानमा परेका थिए।

सशस्त्र प्रहरी बलका एक पूर्व डिआइजी भन्छन्, “कमल गिरीजस्तो विवादास्पद व्यक्तिलाई एआईजी बनाउने हो भने संगठनको व्यावसायिकता र उत्तरदायित्व माथि गम्भीर प्रश्न उठ्नेछ। बरियताको आधार, कार्यशैली र इमान्दारितामाथि ध्यान दिनु पर्छ।”

सशस्त्र प्रहरी बलजस्तो अनुशासनप्रधान सुरक्षा निकायमा बढुवाका लागि निष्पक्षता, पेशागत क्षमता, इमानदारी र विगतको योगदान आधार बन्नु आवश्यक छ। अन्यथा, यसले संस्था भित्रको मनोबल गिराउनुका साथै जनविश्वास समेत गुम्न सक्छ।

ताजा अपडेट

खोजी गर्नुहोस