वर्तमानकाल सम्वादाता
जेष्ठ ०३ गते ।
केही दिनयता मौसम खराब छ । केही ठाउँमा हावाहुरी चलेको छ । देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षा भइरहेको छ । यही जेठ १ गते बिहीबार, काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० बाँसटौवामा चट्याङ पर्यो । वडाध्यक्ष कुमार तामाङका अनुसार उक्त चट्याङ ठूलो कटहरको रुखमा परेको थियो । रुख पूरै सुकेको थिएन तर पातहरू थिएनन् ।
चट्याङ बिहीबार एक गते राति १२ बजेतिर परेको हो । चट्याङ परेलगत्तै रुख दनदनी बल्न थाल्यो । ‘चट्याङ परेपछि रुख बलिरहेको थियो, पड्किंदै बलेको थियो’, वडाध्यक्ष तामाङले भने, ‘सुरुमा त हामी आफैंले निभाउन खोज्यौं तर सकेनौं ।’
पानी परिरहेकै बेला रुखमा दन्किरहेको आगो निभाउन नसकेपछि स्थानीयवासीले उपमेयर विष्णुमणि नेपाललाई खबर गरे । उनीमार्फल सशस्त्रको टोलीलाई खबर गरियो ।
बिहीबार रातिदेखि आगो लागे पनि सशस्त्रलाई शुक्रबार दिउँसो २ बजेपछि मात्रै खबर पुगेको थियो । ‘चट्याङ परेर रुखमा आगो लागेको रैछ । हामीलाई ढिलो खबर भयो । २ बजेर ३६ मिनेट जाँदा फोन आएको थियो’, सशस्त्रका १५ नम्बर गणका एसपी प्रेमप्रसाद प्रसाईंले भने ।
चट्याङ लागेर लामो समयदेखि आगो लागेको र जोखिम भएको जानकारी पाएपछि तुरुन्तै आवश्यक सामग्रीसहित टोली घटनास्थल पठाएको एसपी प्रसाईंको भनाइ छ ।
तर, टुप्पादेखि बलिरहेको रुखको आगो कसरी निभाउने भन्ने अन्योल भयो । रुख काटेर ढाल्न पनि समय लाग्ने भयो । आगोका झिल्काहरू उडेर घर भेटाउने सम्भावना उस्तै थियो ।
बलिरहेको रुखमा चढेर निभाउँदा पनि सशस्त्रकै टोलीलाई जोखिम थियो । केही समय अन्योल भएपछि डोरीको सहायताले रुखका हाँगा काटेर आगो नियन्त्रणमा लिइएको एसपी प्रसाईंले बताए ।‘केही समय त कसरी निभाउने, के गर्ने भन्ने भयो’, उनले भने, ‘दमकल पनि लिइयो तर जाने ठाउँ नहुँदा समस्या भयो ।’
एसपी प्रसाईंका अनुसार आगो निभाउन साढे २ देखि करिब ३ घण्टाको समय लागेको थियो । बिहीबार रातिदेखि लागेको आगो शुक्रबार साँझ मात्रै निभाइएको थियो ।
एसपी प्रसाईंले आफ्नो करिअरमै यस्तो अनौठो घटना पहिलोपटक देखेको बताए । ‘अनौठो घटना, पहिलोपटक देखियो’, उनले भने, ‘नयाँ सिक्ने अवसर पनि भयो ।’
घटनापछि रुखमा यसरी किन आगो लाग्यो भनेर बुझेको एसपी प्रसाईंले सुनाए । विज्ञहरुले दूध आउने रुखहरूमा चट्याङ पर्दा यस्तो हुने बताएको उनको भनाइ छ । २ दिनसम्म आगो बलिरहे पनि कुनै मानवीय र अन्य थप क्षति भने हुन नपाएको मेयर टोकबहादुर वाइबाले बताए ।


