रमेश कुमार यादब
जेष्ठ ०३, रौतहट
गरुडा नगरपालिकाको वार्ड नं. ९ सिसवा धमौरामा एक तल्ले दुई कोठे स्वास्थ्य चौकी भवन निर्माण कार्यको शिलान्यास कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा परम्परागत वैदिक विधिअनुसार पुरोहितद्वारा मन्त्रोच्चारण गरी भवनको शिलान्यास गरिएको हो । करिब २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो स्वास्थ्य चौकी भवनले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख जैसवालले स्वास्थ्यलाई नै सबैभन्दा ठूलो सम्पत्ति बताउँदै नगरवासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी विकासका कामहरू प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो । “स्वास्थ्य भनेको सम्पत्ति हो भन्ने भनाइलाई व्यवहारमा उतार्नका लागि यो स्वास्थ्य चौकी निर्माण गरिएको हो । भवन निर्माण कार्य यथासिघ्र सम्पन्न गरी आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनेछौँ,“ नगर प्रमुख जैसवालले भन्नुभयो ।

उहाँले भवन सम्पन्न भएपछि यसै भवनभित्रै बर्थिङ्ग सेन्टर (प्रसूति सेवा) समेत सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । नगर प्रमुख जैसवालले यो परियोजना नगरवासीका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा घरदैलोमै पु¥याउने उद्देश्यले निर्माण कार्यलाई तीव्रता दिइने र गुणस्तरीय रूपमा सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विकास निर्माणका कामहरूलाई पारदर्शी रूपमा अघि बढाइरहेको जनाउँदै नगरपालिकाले जनताको चाहना अनुसार योजनाहरू कार्यान्वयन गरिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रमको अध्यक्षता वार्ड नं. ९ का वडाध्यक्ष राजेश सहनीले गर्नुभएको थियो ।

उहाँले सबै जनप्रतिनिधि विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “हामी जसरी हुन्छ, जुन स्रोत र माध्यमबाट भए पनि बजेट ल्याएर जनताको हितमा काम गरिरहेका छौँ ।“ यस्तै, शनिबारकै दिन गरुडा नगरपालिका वडा नं. ४ मा पनि अर्को महत्वपूर्ण विकास योजनाको शिलान्यास गरिएको छ । संजय साहको खेतदेखि श्रीराम चिनी मिलसम्मको ४२६ मिटर लम्बाइ, १२ फिट चौडाइ र सवा ६ इन्च मोटाइको च्ऋऋ ढलान सडक निर्माण कार्यको शिलान्यास नगर प्रमुख जैसवालले विधिपूर्वक गर्नु भएको हो । करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो सडकले त्यहाँका स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउनुका साथै व्यापार, यातायात र कृषिमा समेत उल्लेखनीय टेवा पु¥याउने अपेक्षा गरिएको छ।
नगर प्रमुख जैसवालले शिलान्यास समारोहमा बोल्दै भने, “यो सडकले नजिकैको चिनी मिल तथा अन्य व्यापारिक केन्द्रहरूमा पहुँच सजिलो बनाउनेछ, जसले गर्दा आर्थिक गतिविधिमा पनि सुधार आउनेछ।“यी दुवै परियोजनाले गरुडा नगरपालिकालाई अझ आत्मनिर्भर, समावेशी र जनउत्तरदायी बनाउने दिशातर्फ टेवा पु¥याउने निश्चित देखिन्छ । नगरवासीहरूले पनि यी पहलको स्वागत गर्दै समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा दिलिप साह, दिलिप पटेल, रामबचन यादब, रामएकवाल साह, देवलाल साह, वडासदस्य देवतिया देवी राम, गायत्री देवी यादब, मुक्तिनरायण चौधरी, स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले नगरपालिकाले अघि सारेका विकासका योजना र कार्यप्रति आभार व्यक्त गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न सरोकारवालासँग आग्रह गरेका थिए


