बिहारका पूर्व मुख्यमन्त्री यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि गरे निष्कासित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • १० पटक पढिएको
बिहारका पूर्व मुख्यमन्त्री यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि गरे निष्कासित

वीरगञ्ज,११ जेठ। भारतको राष्ट्रिय जनता दल (आरजेडी) का संरक्षक तथा बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई “अनुत्तरदायी व्यवहार” र पारिवारिक मूल्य-मान्यताबाट विचलन भएको भन्दै पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । 

निर्णय तेज प्रतापले शनिवार फेसबुकमार्फत आफ्नो १२ वर्षदेखिको प्रेम सम्बन्ध र अनुष्का यादवसँगको सम्बन्धको घोषणा गरेपछि आएको हो ।

लालु प्रसाद यादवले सामाजिक सञ्जालमार्फत छोरा तेज प्रताप यादवलाई पार्टीबाट निष्कासित गरेको कदमको घोषणा गर्दै व्यक्तिगत जीवनमा नैतिक मूल्यको उपेक्षा गर्नाले सामाजिक न्यायका लागि पार्टीको सामूहिक सङ्घर्ष कमजोर हुने बताएका छन् । उनले तेज प्रतापको व्यवहार, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार पारिवारिक मूल्य र परम्परासँग मेल नखाने उल्लेख गरेका छन् ।

“व्यक्तिगत जीवनमा नैतिक मूल्यको उपेक्षा गर्नाले हाम्रो सामाजिक न्यायको सामूहिक सङ्घर्ष कमजोर हुन्छ । जेठा छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य र परम्परासँग मेल खाँदैन । तसर्थ, माथिका परिस्थितिका कारण म उनलाई पार्टी र परिवारबाट निष्कासित गर्दछु । अबदेखि उनको पार्टी र परिवारमा कुनै पनि भूमिका हुनेछैन । उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ,” लालुले हिन्दीमा लेखिएको पोस्टमा भनेका छन् ।

उनले थपेका छन्, “उनी आफ्नो व्यक्तिगत जीवनको राम्रो-नराम्रो र गुण-दोष छुट्याउन सक्षम छन् । उनसँग सम्बन्ध राख्ने जो कोहीले आफ्नो विवेकअनुसार निर्णय लिनुपर्छ । म सधैँ सार्वजनिक जीवनमा सार्वजनिक लज्जाको पक्षधर हुँ । परिवारका आज्ञाकारी सदस्यहरूले यो विचारलाई सार्वजनिक जीवनमा अपनाएका र पालना गरेका छन् । धन्यवाद ।”

लालु प्रसाद यादवको कदमले बिहारको राजनीतिमा ठूलो तरङ्ग ल्याउने अनुमान गरिएको छ । आरजेडीका प्रभावशाली नेटा मानिएका तेज प्रताप यादव बिहार विधान सभाका पूर्व सदस्य हुन् । उनको व्यक्तिगत र राजनीतिक जीवनले विगतमा पनि विवादहरू निम्त्याएको थियो । निष्कासनले आरजेडीको आन्तरिक गतिशीलता र आगामी रणनीतिमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ  ।

लालुको निर्णयले परिवार र पार्टी दुवैमा ठूलो हलचल ल्याएको छ । तेज प्रतापले निर्णयको जवाफमा कुनै प्रतिक्रिया दिएका छैनन्, तर यो घटनाले बिहारको राजनीतिक परिदृश्यमा नयाँ बहस र चर्चा सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस