युनुस अन्सारी प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • ११ पटक पढिएको
युनुस अन्सारी प्रहरीको नियन्त्रणमा

वीरगञ्ज,११ जेठ। नक्कली भारतीय नोट प्रकरणमा पटक–पटक पक्राउ परेका बाराका युनुस अन्सारीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको अनुसन्धान थालेको छ । नख्खु कारागारबाट ६ वर्षको कैद सजाय पूरा गरी शनिवार रिहा भए लगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।

सीआईबीका एसएसपी होबिन्द्र बोगटीले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको बताए । उनलाई आइतबार अदालतमा पेस गरिँदै छ । अन्सारीको रिहाइअघि नै सीआईबीले कारागार व्यवस्थापन विभागलाई पत्र लेखी अनुसन्धानका लागि उपस्थित गराउन अनुरोध गरेको थियो । सोही आधारमा कारागारबाट निस्कनासाथ उनलाई हिरासतमा लिइएको हो।

अन्सारीको नक्कली नोटसँगको इतिहास लामो छ । सन् २०६६ पुस १३ मा २५ लाख ४४ हजार ५०० भारतीय जाली नोटसहित पहिलोपटक पक्राउ परेका उनी त्यतिबेला नेसनल टेलिभिजनका अध्यक्ष थिए । सो प्रकरणमा १७ माघ २०६६ मा कारागार चलान भएका उनको संलग्नता २०६७ असोज ६ मा ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि देखिएको थियो ।

करिब ५ वर्षको कैदपछि २०७० असोज १८ मा रिहा भएका अन्सारी पुनः २०७० माघ १० मा ३५ लाख नक्कली नोटसहित पक्राउ परेका थिए ।

यस्तै, २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित समातिएका उनलाई अदालतले ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । उक्त सजाय भुक्तान गरेर उनी शनिवार रिहा भएका हुन् ।

प्रहरीका अनुसार, अन्सारीमाथि भारतीय आपराधिक गिरोहको खतरा रहेकाले हिरासतबाहिर राख्दा सुरक्षा चुनौती देखिएको छ । २०६७ फागुन २६ मा केन्द्रीय कारागारमा रहँदा भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले उनमाथि गोली प्रहार गरी हत्या प्रयास गरेको थियो ।

सीआईबीले अन्सारीको सम्पत्तिको स्रोत र आपराधिक सञ्जालबारे गहिरो अनुसन्धान गरिरहेको छ । अनुसन्धानले नक्कली नोट कारोबार र सम्पत्ति शुद्धीकरणको जालोबारे थप खुलासा गर्ने प्रहरीको अपेक्षा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस