रौतहटमा खुलेआम बालश्रम हुदै, सम्बन्धित निकाय मौन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १४, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा खुलेआम बालश्रम हुदै, सम्बन्धित निकाय मौन

रौतहट,१३ जेठ। रौतहटको चन्द्रनिगाहपुरमा होटेल रेस्टुरेन्टहरू तथा सडकमा घुमेर समान बेच्नेमा बालश्रम खुलेआम बढ्दै गएको देखिएको छ ।

विद्यालय जानुपर्ने उमेरका बालबालिका बिहानदेखि अबेर रातिसम्म सडकमा घुमेर समान बेच्ने भाँडा माझ्ने, टेबल सर्ने र ग्राहकको सेवा गर्ने काममा व्यस्त देखिन्छन्, तर सरोकारवाला निकाय भने मौन छन् । स्थानीय स्तरमा गरिएको स्थलगत अध्ययनअनुसार चन्द्रनिगाहपुर बजार क्षेत्रका होटेल, मिठाइ पसल र खाजाघरहरूमा १० देखि १५ वर्ष उमेरका बालबालिका श्रमिकका रूपमा कार्यरत छन् ।

उनीहरूलाई न्यून पारिश्रमिकमा अत्यधिक समयसम्म काम गराइन्छ । अधिकांश बालबालिका गरिबी, पारिवारिक दबाब र शिक्षाबाट वञ्चित भएकाले मजदुरी गर्न बाध्य छन् । स्थानीय समाजसेवी बाबुराम दाहालसँग कुरा गर्दै भने, “स्कुल जानुपर्ने उमेरमा बच्चाहरू गिलास माझ्दै छन्, थाल उठाउँदै छन् । हामीले धेरै पटक देख्यौँ तर कतैबाट कारबाही भएको देखिएन । श्रम ऐनअनुसार १६ वर्षमुनिका बालबालिकालाई जोखिमयुक्त काममा लगाउन पाइँदैन भने १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा संलग्न गराउन निषेध गरिएको छ ।

तर जिल्ला प्रशासन कार्यालय, श्रम तथा रोजगार कार्यालय र बालबालिका सेवा केन्द्रजस्ता सरकारी संयन्त्रले प्रभावकारी अनुगमन नगरेको जनगुनासो छ । यस्तै, बाल अधिकार संरक्षणमा काम गर्ने गैरसरकारी संस्थाहरूको पनि भूमिका कमजोर देखिएको छ । विगतमा केही होटेल व्यवसायीहरूलाई सचेत गराइएको भए पनि त्यसले दीर्घकालीन प्रभाव नपारेको देखिन्छ । सामाजिक चेतनाको कमी, गरिबी र सम्बन्धित निकायहरूको उदासीनताले समस्या झन् जटिल बन्दै गएको छ ।

यति मात्र होइन, रौतहट लगायतका जिल्लाहरूमा होटेलहरूमा बालश्रमसँगै यौन शोषणका घटनाहरू समेत बढ्दै गएका छन्, जसले स्थानीय समाजमा गम्भीर चिन्ता उत्पन्न गराएको छ । अब बालश्रम नियन्त्रणका लागि समन्वित पहल अपरिहार्य देखिन्छ। सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था र नागरिक समाज मिलेर बालबालिकाको भविष्य सुरक्षित गर्न गम्भीर भएर लाग्नुपर्ने समय आएको छ । कानुनी प्रावधानको कडाइका साथ कार्यान्वयन र जनचेतना अभिवृद्धिमार्फत मात्र यस्ता समस्याहरूको दीर्घकालीन समाधान सम्भव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस