अवैध वन अतिक्रमण नियन्त्रण गर्न डिभिजन वन कार्यालयको सक्रियता, अतिक्रमण हटाउंदै कारबाही प्रक्रिया अघि बढाइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
अवैध वन अतिक्रमण नियन्त्रण गर्न डिभिजन वन कार्यालयको सक्रियता, अतिक्रमण हटाउंदै कारबाही प्रक्रिया अघि बढाइयो

वर्तमानकाल सम्वादाता
जेष्ठ १३, रौतहट

रौतहट जिल्लाको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा पछिल्लो समय तीव्र रुपमा फैलिँदै गएको वन अतिक्रमणलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालय रौतहट सक्रिय बनेको छ । विशेष गरी बहुमूल्य खयर जातका रुखहरू अवैध रूपमा फाडेर जमिन खेतीयोग्य बनाउने कार्य तथा बलरी खोर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको बस्ती विस्तारका नाममा भएको जंगल फडानी रोक्न वन कार्यालयले कठोर कदम चालेको छ ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि कार्यालयले तत्कालै अनुगमन टोली परिचालन गरी बगर क्षेत्रमा निगरानी बढाएको छ । प्रमुख साहले जानकारी दिँदै भने, “समाचार बाहिरिएपछि हाम्रो टोलीले निरन्तर गस्ती बढाएको छ । अवैध रूपमा वन फाड्ने, अतिक्रमण गर्ने, खेती गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने कार्य प्रारम्भ भइसकेको छ ।”

उनका अनुसार, डिभिजन वन कार्यालय अन्तर्गतको वृन्दावन सव डिभिजन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा मंगलबार संयुक्त वन गस्ती टोलीले वृन्दावन नगरपालिका–१ भोटे टोलमा पाँचवटा स्थानमा वन अतिक्रमण
गरी रोपिएको करिब १ बिगाहा क्षेत्रफलमा फैलिएको अदुवा, वेसार, केरा तथा अन्य तरकारी खेती नष्ट गरेको छ । साथै सोही ठाउँमा बनाइएको टहरा तथा अस्थायी संरचनाहरू समेत हटाइएका छन् ।

यस अभियानमा डिभिजन वन कार्यालय, वृन्दावन सव डिभिजन कार्यालय बलरी, चेतनगर वन पोष्टका वन कर्मचारी तथा सुरक्षाकर्मीहरूको समन्वयमा कार्य गरिएको थियो । डिभिजन वन कार्यालयका प्रमुख साहले जानकारी दिए अनुसार, अतिक्रमण
गरेर खेती गर्दै आएका व्यक्तिहरूको पहिचान गरी उनीहरूविरुद्ध वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
साहले थपे, यो समस्या पञ्चायती कालदेखि निरन्तर हुँदै आएको पुरानै समस्या भए पनि यसलाई समाधान गर्न विभाग दृढसंकल्पका साथ लागिरहेको छ । उनी भन्छन्, “अतिक्रमित भू(भाग फिर्ता ल्याएर फेरि वन क्षेत्रको स्वरूप फर्काउन हामी प्रतिबद्ध छौं ।”

यसअघि चैत २४ गते वृन्दावन नगरपालिका–४ हरैयाका स्थानीय बासिन्दा बिल्टु राय यादवलाई खयरघारी वन क्षेत्रमा झाडी र बुट्यान फाँडिरहेको अवस्थामा वन गस्ती टोलीले रंगेहात पक्राउ गरेको थियो । उनलाई पनि वन ऐनअनुसार मुद्दा चलाएर अनुसन्धान कार्य अगाडी बढाईएको बताउनु भयो । वन अतिक्रमणमा संलग्न केही स्थानीय व्यक्तिहरूले चेतावनी र बारम्बारको सूचनाका बाबजुद पनि अतिक्रमण कार्य जारी राखेकाले डिभिजन वन कार्यालयले अब कडाइका साथ निगरानी र कारवाही थाल्ने जनाएको छ ।

साथै, कुनै पनि हालतमा राष्टिूय सम्पदा मास्न नदिने र सामुदायिक सचेतनासँगै कानुनी कदम पनि चालिने प्रमुख साहले स्पष्ट पारेका छन् । डिभिजन वन कार्यालयले अब नियमित रूपमा बगर क्षेत्र, खयरघारी क्षेत्र लगायत अतिक्रमणका हटस्पट ठानिएका भू(भागमा निगरानी र गस्तीलाई निरन्तरता दिने जनाएको छ । वन संरक्षण, जैविक विविधताको रक्षा र पर्यावरण सन्तुलनका लागि यस्तो कडाइ जरुरी रहेको भन्दै डिभिजन वन कार्यालय रौतहटले सबै सरोकारवाला र स्थानीय समुदायलाई सहकार्यका लागि आग्रहसमेत गरेको छ । यदि अतिक्रमणमा संलग्न गतिविधि पुनः दोहोरियो भने कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस