
वीरगञ्ज,१४ जेठ। एक जना १३ वर्षीय बालिकालाई प्रेमको झुटो प्रलोभन दिँदै पटक–पटक बलात्कार गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका – ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादव रहेका छन् ।
कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुटो प्रलोभन दिएर ललाई फकाई पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ ।
जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई यादवले वीरगञ्ज महानगरपालिका – १५ भिस्वास्थित आफ्नो डेरामा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।
पीडित बालिकाको उरजीका आधारमा आरोपित यादवलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए ।
पक्राउ गरिएका यादवलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।
