पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

वीरगञ्ज,१४ जेठ। पर्साको पटेर्वासुगौली गाउँपालिका – ९ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका – २ निवासी ६१ वर्षीय श्याम बहादुर भुलन रहेका छन् । भुलनलाई गत जेठ ९ गते साँझ ७:१५ बजेको करिबमा जङ्गली हात्तीले आक्रमण गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, भुलन आफ्ना दुई साथीहरू भक्त बहादुर आले र श्रवण भुलनसँग सितलपुर जङ्गलमा कुरीलो (जडीबुटी) खन्न गएका थिए । सोही क्रममा अचानक जङ्गली हात्तीले आक्रमण गर्दा भुलनको घटनास्थलमै मृत्यु भएको हो । उनका साथीहरू भक्त बहादुर आले र श्रवण भुलन भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

घटना सम्बन्धमा जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा प्रहरी टोली र दृश्य अनुसन्धान (सोको) टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलको शवजाँच, प्रकृति मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरेको र शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको जनाएको छ । हाल घटनाको थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस