
वीरगञ्ज,१४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यस्तो निष्कर्ष निकालेका हुन् । छलफलमा गृहमन्त्री रमेश लेखक पनि थिए ।
उनीहरूले संसद्मा उठेका प्रश्नका विषयमा गृहमन्त्रीलाई प्रस्ट पार्न दिन विपक्षी दलहरूसँग आग्रहसमेत गरेका छन् । बैठकमा संसद् बैठक सञ्चालन र विपक्षीका मागका विषयमा छलफल भएको थियो ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ । एउटा कर्मचारीको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु राम्रो होइन । प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा लगायतका दलले संसद् अवरुद्ध गरेका छन् ।जेठ १५ गते संसद्मा बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यताका कारण सत्ता पक्षीय दलहरू संसद्को अवरोध हटाउन प्रयासरत छन् ।
