मोटरसाइकल दुर्घटनामा : एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ८ पटक पढिएको
मोटरसाइकल दुर्घटनामा : एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

बारा,१४ जेठ। बाराको पचरौता नगरपालिका – १, पिपरपातीका एकै परिवारका तीन सदस्यको मंगलबार राति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच महिनाका बालक दिब्यांश, उनकी आमा २० वर्षीया रेश्मी देवी र हजुरआमा ५० वर्षीया राजकुमारी देवी रहेका छन्।

उनीहरू भारतको रक्सौलबाट उपचार गरेर फर्किने क्रममा छौडादानोस्थित बखरी गाउँ नजिकै दुर्घटनामा परेका थिए। मोटरसाइकल सडक निर्माणका क्रममा खनिएको खाल्डोमा खस्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

मोटरसाइकल चालक २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन्। उनले आफ्ना छोरा दिब्यांशको उपचारका लागि पत्नी र आमा सँगै लिएर भारत गएका थिए। दुर्घटनामा बालकसहित तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकहरूको पार्थिव शरीर पचरौतामा ल्याएर अन्तिम संस्कार गरिएको छ। धर्मराज साहको अहिले भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा गम्भीर चोट लागेको र आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भएको बताइएको छ।

घाइते साहको उपचार सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ। पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहले साहको उपचारमा सहयोगस्वरूप तत्काल एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस