रमेश कुमार यादब
जेष्ठ १५, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल आफ्नो नगरको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील रहेका छन् । स्वास्थ्य, शुद्ध खानेपानी र गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै जनहितका योजनाहरूमार्फत समाज रुपान्तरणमा अग्रसर भइरहेका प्रमुख जैसवालले फेरी एकपटक शिक्षा क्षेत्रमा ठुलो योगदान दिने योजनाको थालनी गरेका छन् । यही सिलसिलामा बुधवार गरुडा नगरपालिका–४ स्थित श्री नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा एक भव्य कार्यक्रमका बीच प्रशासकीय भवनको शिलान्यास गरियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जैसवाल रहनु भएको थियो भने अध्यक्षता दिलीप कुमार साहले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष, विद्यालयका शिक्षक(शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिक्षामा लगानी, उज्यालो भविष्यको आधार
शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख जैसवालले शिक्षा क्षेत्रको मजबुती नै समृद्ध समाज निर्माणको आधार भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विद्यालय शिक्षाको मन्दिर मात्र होइन, समृद्ध भविष्यको जग पनि हो । शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरीय, सुरक्षित र सुव्यवस्थित शैक्षिक वातावरणको निर्माणका लागि हामी प्रतिवद्ध छौं ।
”जैसवालले स्पष्ट पार्नुभयो कि यो प्रशासकीय भवनको निर्माणसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य अझ व्यवस्थित, प्रभावकारी र पारदर्शी हुने विश्वास लिएको बताउनु भयो । उहाँले नगरवासीहरूको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै धेरै शैक्षिक पूर्वाधारको विकास गरिने योजना रहेको जानकारी दिनु भयो ।
९२ लाखको लागतमा निर्माण हुँदै भवन
नव निर्मित भवनको निर्माण कार्य नेपाल सरकारको संघीय अनुदान तथा गरुडा नगरपालिका अन्तर्गत सञ्चालन गरिएको नमुना विद्यालय विकास कार्यक्रममार्फत हुँदैछ । परियोजना बहुवर्षीय कार्यक्रमअन्तर्गत पर्दछ । यस आर्थिक वर्षका लागि सरकारले ८२ लाख रुपैयाँको अनुदान प्रदान गरेको छ भने स्थानीय समुदायबाट १० प्रतिशत बराबरको श्रमदान गरिने छ, जसअनुसार कुल लागत ९२ लाख रुपैयाँ पुग्नेछ ।

नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रभु पटेलले जानकारी दिनुभयो कि भवन तीन तल्लाको हुनेछ र त्यसमा आठ वटा कोठाहरू रहने छन् । भवन निर्माणपछि विद्यालयको प्रशासनिक कामकाजमा उल्लेखनीय सहजता आउने विश्वास लिएको उहाँले बताउनु भयो । साथै, विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक–शिक्षिकाहरूलाई समेत थप प्रेरणा र उत्साह मिल्ने अपेक्षा गरिएको छ ।
स्थानीय बासिन्दाको उत्साहजनक सहभागिताशिलान्यास कार्यक्रममा स्थानीय बासिन्दाहरूको उपस्थिति तथा सहभागिता अत्यन्त उत्साहजनक रहेको थियो । उनीहरूले नगर प्रमुख जैसवालद्वारा गरिँदै आएको विकास योजनाको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, अध्यक्ष र अन्य अतिथिहरूद्वारा संयुक्त रूपमा शिलान्यास ढुंगामा पूजाआर्चना गरी औपचारिक रूपमा भवन निर्माणको थालनी गरियो ।
शिलान्यास कार्यक्रमपछि नगर प्रमुख जैसवालले विद्यालयको कक्षा कक्ष, पुस्तकालय र प्रयोगशाला कक्षको समेत अवलोकन गरे। साथै, आगामी दिनमा विद्यालयमा थप शैक्षिक सुधार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । गरुडा नगरपालिकामा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा भइरहेको विकास अभियानप्रति स्थानीयको विश्वास र साथ दिनानुदिन बढ्दो देखिन्छ ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा शिक्षा क्षेत्रमा गरिएको यो पहलले नगरलाई दीर्घकालीन रूपमा शिक्षित, सक्षम र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास गरिएको छ। स्थानीयबासीहरुले नगर प्रमुख जैसवालको यो कार्यको खुलेर प्रशंसा गर्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।


