रमेश कुमार यादब
जेष्ठ १९, रौतहट
रौतहट जिल्लामा पछिल्ला केही महिनादेखि मोटरसाईकल चोरीको घटना दिनप्रतिदिन बढ्दै गएको छ । यस्ता घटना झनै तीव्ररुपमा बढ्न थालेपछि स्थानिय बासिन्दाहरुमा त्रासको वातावरण सिर्जना भएको छ । चोरीका घटनाहरु बढ्दै जाँदा सर्वसाधारणले आफ्नो सवारीसाधन सुरक्षित राख्न समेत कठिनाई भोगिरहेका छन् । गत शनिबार राति रौतहटको बृन्दावन नगरपालिका–६ सिसवा टोलमा एक मोटरसाईकल चोरी भएको छ । चोरी भएको मोटरसाईकल कटहरिया नगरपालिका–१ भसेडवा निवासी विवेक सिंह (कुनाल कुशवाहा) को नाममा दर्ता गरिएको यामाहा एफजेड एक्स मोडलको मोटरसाइकल (ना. ३ प ९७६६) हो । सिंह एक वैवाहिक समारोहमा जन्तीको रूपमा सिसवा टोल गएका थिए ।
कार्यक्रमको क्रममा उनले मोटरसाईकल लडकी पक्ष बिन्देश्वर दासको घर अगाडि सडक छेउमा पार्क गरेका थिए । हिन्दु परम्पराअनुसार आयोजना गरिएको जयमालाको समयमा उनी केही समयका लागि कार्यक्रममा सहभागी भए, तर फर्किंदा मोटरसाईकल रहेको स्थानमा गाडी भेटिएन । घटनाको जानकारी पाएपछि सिंहले राति नै नजिकैको प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए । “म मोटरसाईकल राखेर कार्यक्रममा सहभागी भएँ, फर्केर आउँदा गाडी नै हराएको देख्दा म निकै आश्चर्यचकित भएँ । तुरुन्तै प्रहरीमा जानकारी दिएँ, आशा छ कि छिट्टै मेरो गाडी फेला पर्छ,“ सिंहले बताए ।
घटनास्थल वरपरका स्थानियहरुसँग सोधपुछ गर्दा कसैले पनि संदेहजनक व्यक्ति देखिएको वा चोरी भइरहेको देखेको पुष्टि गर्न सकेनन् । यसले गर्दा चोरी पूर्व योजनाबद्ध रुपमा निगरानी गरेर मात्र गरिएको हुनसक्ने प्रहरी र स्थानियको अनुमान छ ।
यसअघि पनि रौतहट जिल्लाको विभिन्न स्थानहरुमा यस्तै शैलीमा मोटरसाइकल चोरी भएका घटना सार्वजनिक भइसकेका छन् । तर, अधिकांश घटनामा दोषी पत्ता लगाउने र सवारीसाधन फिर्ता गराउने कार्यमा उल्लेखनीय सफलता नदेखिएकाले आमनागरिकमा प्रहरी प्रशासनप्रति पनि निराशा देखिएको छ ।
प्रहरी स्रोतका अनुसार केही चोर समूह सक्रिय रहेको आशंका गरिएको छ र केही व्यक्तिहरुलाई अनुसन्धानको क्रममा पक्राउ पनि गरिएको हो । तर कानुनी प्रक्रियामा कमजोरी, प्रमाणको अभाव र प्रभावशाली व्यक्तिहरुको दबाबका कारण धेरैजसो चोरहरु सजायबाट उम्किने गरेको जनगुनासो रहँदै आएको छ । स्थानीय बासिन्दाहरुले मोटरसाइकल चोरी नियन्त्रण गर्न प्रहरीलाई थप सक्रिय र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
साथै, मोटरसाइकलधनीहरुलाई समेत सार्वजनिक स्थानमा सवारीसाधन पार्क गर्दा विशेष सतर्कता अपनाउन र सम्भव भएसम्म तालाचाबी तथा सुरक्षात्मक उपाय प्रयोग गर्न सुझाव दिइएको छ । यस सम्बन्धमा बृन्दावन प्रहरी चौकीका एक प्रहरी अधिकृतले नाम नखुलाउने शर्तमा जानकारी दिँदै भने, “हामीले मोटरसाइकल चोरीको घटना गम्भीरतापूर्वक लिएका छौं ।
अनुसन्धान भइरहेको छ र हामी आशावादी छौं कि चाँडै अपराधी पत्ता लगाएर आवश्यक कारबाही हुनेछ ।“ यस्तै घटनाहरु बढिरहँदा रौतहटका स्थानिय निकाय, प्रहरी प्रशासन र नागरिक समाजको साझा प्रयासबाट मात्र यस समस्याको दीर्घकालीन समाधान सम्भव हुने देखिन्छ ।


