वीरगञ्ज,२० जेठ। पत्नीको प्रेम सम्बन्धबाट मानसिक रूपमा पीडित एक युवकले पत्नीका प्रेमीका छोरालाई नेपाल ल्याई नारायणी नदीमा फालेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।
घटना रक्सौल थाना क्षेत्रअन्तर्गत जोकियारी गाउँको हो। आरोपी मनोहर साहलाई रक्सौल प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, मनोहर साहकी पत्नीको सम्बन्ध अनुमण्डल अस्पतालका एक स्वास्थ्यकर्मीसँग रहेको खुलेको छ। सोही प्रेम सम्बन्धका कारण साह लामो समयदेखि तनावमा रहेका थिए।
पक्राउ परेका साहले पत्नीका प्रेमीसँग बदला लिन उनका छोरालाई अपहरण गरी नेपाल ल्याई नारायणी नदीमा फालेको स्वीकार गरेका छन्।
हाल पीडित बालकको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। रक्सौल प्रहरीका अनुसार, घटनासँग सम्बन्धित थप अनुसन्धान जारी छ र सोधपुछपछि कानूनी प्रक्रिया अघि बढाइनेछ।
यस घटनाले सीमावर्ती क्षेत्रमा पारिवारिक विग्रह र अवैध सम्बन्धका कारण निम्तिने गम्भीर अपराधप्रति सतर्क रहनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।


