गौर,२० जेठ। प्रादेशिक अस्पताल गौरले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको चमेना गृहलाई बासी र दुषित खाना खुवाएको आरोपमा २४ घण्टे स्पष्टीकरण माग गरेको छ। अस्पताल परिसरभित्र आसुतोष निर्माण सेवा, राजदेवी–६ द्वारा सञ्चालित चमेना गृहले विरामीका कुरुवालाई स्वास्थ्यमा गम्भीर असर पर्ने खालको खाना खुवाएको आरोप लागेको हो।
गत सोमबार यमुना माई गाउँपालिका–का वडाध्यक्ष सीताराम यादव सहित दुई जनाले चमेना गृहमा खाना खाँदा बासी खाना परेको गुनासो आएपछि अस्पताल प्रशासनले कडा कदम चालेको हो।
अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. मुरारी ठाकुरद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा उल्लेख गरिएअनुसार, विगत ७ महिनादेखि सञ्चालनमा रहेको चमेना गृहले सम्झौता बुँदा नम्बर २ र ८ को उल्लङ्घन गर्दै जेठ १९ गते बासी खाना खुवाएको विषयमा गुनासो प्राप्त भएको हो।
स्पष्टीकरण पत्रमा २४ घण्टाभित्र लिखित रूपमा साक्ष्यसहित जवाफ दिन भनिएको छ। साथसाथै, सम्झौता रद्द नगर्नु पर्ने के कस्ता आधारहरू छन् भन्ने विषयमा स्पष्ट खुलाई बुझाउन पनि भनिएको छ।
अस्पताल प्रशासनले चमेना गृहको अनुशासन, गुणस्तर र सार्वजनिक स्वास्थ्यप्रतिको जिम्मेवारीमा प्रश्न उठाउने खालको सेवा नदिने फर्ममाथि ठोस कारबाही प्रक्रिया अघि बढाइने संकेत दिएको छ।
यस घटनापछि अस्पतालमा सेवा लिने विरामी र कुरुवाबीच चमेना गृहप्रति असन्तुष्टि थपिएको देखिएको छ। आगामी दिनमा यस्तो लापरवाही दोहोरिन नदिन कडाइका साथ निगरानी र कार्यान्वयन गरिने अस्पताल स्रोतले जनाएको छ।


