रौतहट,२० जेठ। दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा एक दिने निशुल्क आँखा शिविर मंगलवार सम्पन्न भएको छ ।
सेवा फाउण्डेशनको सहयोग, दुर्गा भगवती गाउँपालिकाको स्थानीय सहयोगमा तथा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवा रौतहटद्वारा वडा नम्वर २ स्थित सरस्वती मावी पिपरा भलोहियामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
विहान ९ बजे देखि सुरु भएर ४ बजे सम्म संचालन भएका शिविरमा ४२८ जना महिला पुरुषले आँखाको परिक्षण गराए । १३८ जनालाई चश्मा, १४२ जनालाई औषधी र ६३ जना विरामीको आँखामा मोतिया बिन्दु फेला परेपछि उनीहरुको निशुल्क शैल्यक्रिया गरिने शिविर संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
उक्त शिविरमा गौर आँखा अस्पतालका नेत्र चिकित्सकहरुद्वारा आँखा परिक्षण गरेर औषधी, चश्मा वितरण गरिएको संयोजक पाण्डेले बताए ।
शिविरलाई दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले एक समारोहका विच उदघाटन गरेका थिए । उक्त अवसरमा स्थानीय जनप्रतिनिधिहरु, भद्रभलादमीहरु, समाजसेवीहरुको उपस्थिति रहेको पाण्डेले भने ।