रौतहट,२१ जेठ। रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित चन्द्रनिगाहपुरमा ट्रक र विद्युतीय सवारी साधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको रामनगर गाउँपालिका–१, खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देवी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
आज (बुधबार) बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा ठोक्किएका थियो।
विद्युतीय गाडीमा सवार अन्य यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। घटनास्थलमा प्रहरीको टोली खटिएको छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


