रक्सौल,२१ जेठ। भारत–नेपाल सीमा-पछिल्ला केही हप्तादेखि भारत-नेपाल सीमा नजिकको रक्सौल नाका घुसपैठकर्ताहरूको लागि नयाँ हॉटस्पट बनेको देखिएको छ। ‘अपरेशन सिन्दूर’ पछि यो नाका हुँदै घुसपैठको घटनामा उल्लेख्य वृद्धि भएको छ।
एक महिनाभित्र मात्र रक्सौल सीमाबाट करिब १० जना विदेशी नागरिक भारत प्रवेश गर्ने क्रममा पक्राउ परेका छन्। तीमध्ये चीन, कोरिया, क्यानडा, फ्रान्स, अमेरिका र एक खालिस्तानी नागरिक रहेका छन्।
हालै, एसएसबीको विशेष युनिट ‘बोर्डर इन्ट्रक्शन टिमले रक्सौलको मैत्री पुल नजिक एक चिनियाँ नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो। चिनियाँ नागरिक हुई जेस्सी र नेपाली नागरिक श्याम कुमार दहालको परिचय खुलाइएको छ।
उनीहरू दुवैजना यान्ताई डाँगफाङ इलेक्ट्रिक कम्पनीमा कार्यरत रहेको खुलेको छ। चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएका थिए र नेपाली नागरिकको सहयोगमा रक्सौल नाकाबाट अवैध रूपमा भारत प्रवेश गर्न खोज्दै थिए।
हालै पक्राउ परेका चिनियाँ नागरिकसहित अन्य विदेशी नागरिकहरूको लक्ष्य के थियो? उनीहरू किन अवैध रूपमा भारत प्रवेश गर्न खोजे ? भन्नेबारे सुरक्षात्मक निकायहरूले अनुसन्धान तीव्र बनाएका छन्।
एसएसबीका अनुसार यो एक महिनाको अवधिमा रक्सौल सीमाबाट पक्राउ गरिएको पाँचौं चिनियाँ नागरिक हो, जसले वैध कागजात बिना भारत प्रवेश गर्न खोजेका थिए।
यसअघि पनि मधुबनी सीमा नजिक दुई चिनियाँ नागरिक पक्राउ परिसकेका थिए। अहिले पक्राउ परेकाहरूलाई पन्ठोका एसएसबी क्याम्पमा राखेर सोधपुछ भइरहेको छ र अन्य सुरक्षा निकायहरूलाई समेत जानकारी दिइएको छ।