
सर्लाही,२१ जेठ। सर्लाहीमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको हरिपुर्वा नगरपालिका – ६, अन्तर्गत बसतपुर भित्री सडकखण्डबाट प्रहरीले १० किलो ५०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले मंगलबार दिउँसो बसतपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज ६ प. २३६ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर चेकजाँच गर्दा झोलामा गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा जिल्लाको ईश्वरपुर नगरपालिका – १३, श्रीनगर बस्ने ३७ वर्षीय मनोज कुमार महतो र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय राजेश मलिक रहेका छन्। उनीहरूको साथबाट बरामद गरिएको गाँजा र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। उनीहरुमाथि सर्लाही जिल्ला अदालतबाट ३ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिएका छन् ।
