कर्नाटक,२२ जेठ। भारतीय प्रिमियर लिग (आईपीएल) विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय जुलुसका क्रममा भएको भीषण भागदौडमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। दुर्घटनामा ३३ जना घाइते भएका छन्।
कर्नाटक सरकारद्वारा आयोजीत विजय उत्सव कार्यक्रममा भीडको असाध्य दबाबका कारण चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिएको हो। स्टेडियमको गेट नम्बर १ नजिकबाट भागदौड सुरु भएको बताइएको छ। ३५ हजार क्षमताको स्टेडियममा लाखौंको संख्यामा समर्थक आउँदा स्थितिबाट सुरक्षाकर्मीहरू नियन्त्रण गुमाउन पुगेका थिए।
कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश पनि दिइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी नेता राहुल गान्धीले समेत सामाजिक सञ्जालमार्फत घटनाप्रति शोक व्यक्त गरेका छन्।
आईपीएल फाइनलमा ऐतिहासिक जित हात पारेपछि आरसीबीको टोली मंगलबार राति बैंगलुरु फर्किएको थियो। त्यसको भोलिपल्ट राज्य सरकारले आयोजना गरेको स्वागत कार्यक्रममा यो दुर्भाग्यपूर्ण घटना घटेको हो।
प्रारम्भिक रिपोर्टहरू अनुसार सुरक्षात्मक योजना कमजोर हुनु र भीड नियन्त्रणको समुचित व्यवस्था नहुनु दुर्घटनाको प्रमुख कारण भएको अनुमान गरिएको छ।