
बारा,२२जेठ। बाराको सिमरामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी विवादपछि खोसिएको छ। पाँच महिनाअघि मात्र सिमरामा सरुवा भएकी वाइवालाई छानबिनका लागि प्रहरी प्रधान कार्यालय, काठमाडौं बोलाइएको हो।
प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले केही विषयमा छानबिन आवश्यक परेकाले उनलाई तात्त्काल प्रभावले प्रधान कार्यालय झिकाइएको जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले समेत उनीविरुद्ध उजुरी परेको र त्यसका आधारमा सोधपुछ गर्न काठमाडौं बोलाइएको पुष्टि गरे।
वाइवा र जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईँबीच भएको तेल कुपन विवादपछि वाइवामाथि उजुरी परेको थियो। सो उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा पुगेपछि छानबिन सुरु गरिएको हो।
डीएसपी वाइवाले कार्यालयका सवारीसाधनका लागि उपमहानगरपालिकाबाट ४० दिनभित्र तीन पटक सय लिटरका दरले पेट्रोल र डिजल कुपन लिएकी थिइन्। तर, उपमहानगरले नियमतः महिनामा मात्र सय लिटर इन्धन दिने गरेको जनाएको छ। जेठ १८ गते उपमहानगरले दिएको २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन अस्वीकार गर्दै डीएसपी वाइवाले प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि कुपन च्यातेकी थिइन्।
यो घटनापछि उपमहानगरपालिकाले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीमार्फत लिखित उजुरी दिएकै आधारमा वाइवामाथि छानबिन सुरु गरिएको हो। प्रहरीले छानबिनपछि दोषी नठहरिए पुनः जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनाएको छ।
डीएसपी वाइवा सिमरावासीबीच कडा र अनुशासित प्रहरी अधिकारीका रूपमा पहिचान बनाइरहेकी थिइन्। जेठ पहिलो साता शान्ति टोलमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा प्रशासनले तोकेको समयसीमा उल्लंघन भएपछि उनी स्वयं स्टेजमा पुगेर साउण्ड सिस्टम बन्द गराएकी थिइन्। आयोजकले राति ९ बजेसम्म कार्यक्रम चलाउँदा उनले माइक खोसी कार्यक्रम रोकिदिएपछि उनी सामाजिक सञ्जाल र स्थानीयवासीबीच प्रशंसाको पात्र बनेकी थिइन्।
डीएसपी वाइवाको स्थानमा अर्का डीएसपी वेद जोशी आजै इलाका प्रहरी कार्यालय, सिमरामा हाजिर हुने प्रहरी स्रोतले जनाएको छ।
