किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २४, शुक्रबार (८ महिना अघि)
  • ३ पटक पढिएको
किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु

काठमाडौँ ,२३ जेठ। युक्रेनको राजधानी किभमा रुसले शुक्रबार बिहान ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।आक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

विभिन्न सञ्चारमाध्यमका अनुसार राजधानी किभसँगै देशको उत्तर–पश्चिममा पर्ने लुस्क सहर र टर्नोपिल क्षेत्रलाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो ।

रुसको रक्षा मन्त्रालयले आक्रमणको जिम्मेवारी लिँदै किभको आतंककारी गतिविधिको बदलामा आक्रमण गरिएको जवाफ दिएको छ । मन्त्रालयका अनुसार आक्रमणमा सैन्य ठाउँलाई लक्षित गरिएको हो ।

रुसी सशस्त्र बलले बिहीबार राति हावा, समुद्र र जमिनबाट प्रहार गरिने लामो दुरीका हतियार तथा ड्रोन प्रयोग गरेर ठूलो मात्रामा हमला गरेको रक्षा मन्त्रालयले जनाएको हो ।

युक्रेनले रुसी ‘एयरबेस’हरूमा हालै गरेका आक्रमणको जवाफस्वरूप यो आक्रमण भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्ने चेतावनी दिएको केही समयपछि आक्रमण भएको हो । ‘अमेरिका, युरोप र सारा विश्वले रुसलाई दबाब दिएर युद्ध अन्त्य गराउने यो सही समय हो,’ शुक्रबार एक्समा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले प्रतिक्रिया जनाएका छन् ।

उनले ट्रम्पलाई रूसमाथि युद्ध रोक्न दबाब नदिएको आरोपसमेत लगाएका छन् । ‘यदि कसैले रुसलाई दबाब दिइरहेको छैन र युद्धकै कारण अझ धेरैको ज्यान लिन समय दिइरहेको छ भने त्यो मिलेमतो हो र त्यसको जवाफदेही हुनुपर्छ,’ उनले लेखेका छन्, ‘हामी अब निर्णायक रूपमा अघि बढ्नैपर्छ ।’

जेलेन्स्कीका अनुसार हालसम्म मृत्यु पुष्टि भएका तीन जना युक्रेनको आपतकालीन सेवा विभागका कर्मचारी हुन् । उनका अनुसार आक्रमणमा ४ सयभन्दा बढी ड्रोन र ४० भन्दा बढी मिसाइल प्रयोग गरिएको थियो । घाइतेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस