कालोपत्रे सडक गुणस्तरहीन, स्थानीय आक्रोशित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २५, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
कालोपत्रे सडक गुणस्तरहीन, स्थानीय आक्रोशित

बारा,२४ जेठ। आर्थिक वर्षको अन्त्यसँगै विकासे कामको चटारो सुरु भएको बेला बाराको महागढीमाई नगरपालिका–६ मा निर्माण गरिएको कालोपत्रे सडक गुणस्तरहीन भएको पुष्टि भएको छ।

पत्रहट्टीदेखि बर्वा–पर्सा जोड्ने सडकखण्डमा केही दिनअघि मात्र गरिएको कालोपत्रे १५ दिन नपुग्दै उप्किन थालेपछि निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठेको हो। स्थानीयवासीहरू अनुसार बेसमा मात्र बालुवा हालेर, बिना रोलर कालोपत्रे गरिएकोले निर्माण सुरु भएको छोटो समयमा नै ढुङ्गा निस्किन थालेको हो।

स्थानीय विक्रमप्रसाद यादवले स्वास्थ्य चौकी पत्रहट्टीदेखि हुलाकी राजमार्गसम्म कालोपत्रे गरिएको सडकमा पातलो तहमा अलकत्रा राखिएकोले गाडी नचल्याउँदै सडक उप्किएको दाबी गरे। निर्माण कम्पनीको लापरवाही र कमजोर सामग्री प्रयोग गरिएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् र गुणस्तर जाँचको माग गरेका छन्।

सडक निर्माणको ठेक्का पाएको भागवती श्री राधेमाई निर्माण सेवा, वीरगञ्ज–पर्साका प्रोपराइटर नन्दराज सर्राफले भने सडकको कोरमा फोरेर हेर्न आग्रह गर्दै गुणस्तरहीन काम नभएको दाबी गरेका छन्। उनले इन्जिनियरमार्फत ल्याब जाँच गराउन तयार रहेको भन्दै “सब–बेस १५ से.मी., बेस १५ से.मी. र प्रिमिक्स ३ से.मी.” अनुसार निर्माण गरिएको जानकारी दिए।

सघन शहरी तथा भवन निर्माण आयोजना, वीरगञ्जमार्फत निर्माण भएको उक्त १ किलोमिटर सडक रु. ६२ लाख २५ हजार ७१०.०२ भ्याट सहितको लागतमा निर्माण गरिएको हो। ठेक्का सम्झौता २०७८ मंसिर २५ मा भई २०७८ चैत ३१ गतेसम्म कार्य सम्पन्न अवधि रहेको छ।

इन्जिनियर मुकेश यादवका अनुसार सडकको गुणस्तर जाँच प्रक्रिया बाँकी रहेको र आवश्यक परेमा “कोर कटिङ” गरी गुणस्तर परीक्षण गरिने बताएका छन्। यदि तय मापदण्डअनुसार निर्माण नभएको प्रमाणित भएमा निर्माण कम्पनीले सुधार गर्नुपर्ने उनको भनाइ छ।

स्थानीयवासीहरूले भने यस्तो हतारमा गरिने असारे विकासप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अन्त्य समयमा बजेट सक्ने नाममा गुणस्तरहीन काम गरिँदा सार्वजनिक सम्पत्तिको दीर्घकालीन प्रयोगमा असर पुग्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस