
रमेश कुमार यादब
जेष्ठ २३, रौतहट
रौतहट जिल्लाको प्रमुख व्यापारिक केन्द्र मानिने गरुडा नगरपालिकामा सञ्चारकर्मीहरूलाई लक्षित गरी कुष्ठरोग सम्बन्धी एक दिने अभिमुखिकरण (ओरियन्टेसन) कार्यक्रम सम्पन्न गरिएको छ । सुमिन्त्रा पार्टी प्यालेस, गरुडामा सम्पन्न उक्त कार्यक्रममा द लेप्रोसी मिसन नेपालले आयोजना गरेको थियो भने रौतहट स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जैसवाल उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रमुख उद्देश्य सञ्चारकर्मीहरूमार्फत समुदायमा कुष्ठरोगसम्बन्धी सही जानकारी फैलाउनु र रोगप्रति व्याप्त भ्रम हटाउनु रहेको थियो ।
कार्यक्रममा डा. लोकेश्वर चौरसियाले कुष्ठरोग सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्रस्तुत गर्दै रोगको लक्षण, संक्रमणका तरिका, रोकथामका उपाय तथा उपचार प्रक्रियाबारेमा प्रशिक्षण दिनुभयो। उहाँका अनुसार कुष्ठरोग कुनै अभिशाप नभएर उपचार गर्न सकिने रोग हो । उचित सरसफाई, सचेतना र समयमै उपचार गरियो भने योरोग पूर्ण रूपमा निको पार्न सकिन्छ। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख जैसवालले भन्नुभयो, “कुष्ठरोग सरसफाईको कमी, कमजोर जीवनशैली र जनचेतनाको अभावका कारण फैलिएको हो ।
रोगप्रति भय होइन, सजगता आवश्यक छ । नगरका गरिब तथा पछाडि परेका वर्गको जीवनस्तर उठाउन र रोगको रोकथामका लागि सामुदायिकस्तरमा सहकार्य आवश्यक छ ।”स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले जिल्लामा कुष्ठरोगको अवस्था बारे विस्तृत तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म रौतहट जिल्लामा ११८ जना कुष्ठरोगीको तथ्याङ्क संकलन गरिएको छ भने यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
“जिल्लाका अन्य पालिकाबाट अझै तथ्याङ्क आउन बाँकी छ। गत वर्ष जिल्लामा १२४ जना कुष्ठरोगी फेला परेका थिए,” सिंहले भन्नुभयो।उहाँका अनुसार नेपालकै सन्दर्भमा सबैभन्दा बढी कुष्ठरोगीको संख्या मधेश प्रदेशमा रहेको छ, जहाँ हालसम्म ८७४ जना
कुष्ठरोगी फेला परिसकेका छन्। तीमध्ये सबैभन्दा बढी संख्या रौतहट जिल्लामा छ भने रौतहट जिल्लाभित्र पनि गरुडा नगरपालिका सबैभन्दा बढी प्रभावित पालिका रहेको छ।
कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो। उनीहरूले रोगसम्बन्धी तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै समुदायमा सही सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको समापनमा आयोजक संस्था द लेप्रोसी मिसन नेपालले सञ्चारकर्मीहरूलाई धन्यवाद दिंदै समुदायमा अझ प्रभावकारी रूपमा रोगसम्बन्धी जनचेतना फैलाउने अभियानमा सहकार्यको अपेक्षा गरेको थियो।
