नवलपरासी,२४ जेठ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक महिनामा एक करोड बढीको अवैध सामान बरामद गरेको छ। भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटले उक्त सामान बरामद गरेका हुन्।
उक्त अवधिमा १ करोड ९ लाख ७४ हजारको अवैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए। जसमा सबैभन्दा बढी मोबाइलमा प्रयोग हुने ग्लास, कभर एयरफोन गरी २८ लाख बढीको छ।
त्यस्तै २६ लाख ५९ हजार बराबरको टायललगायतका अन्य सामान छन्। १२ लाख ५४ हजार बढीको किराना सामान, आठ लाख ७७ हजार बढीको फेन्सी सामान, दुई लाख ८६ हजार बढीको पशुपक्षीजन्य वस्तु, एक लाख ६३ हजार बराबरका पित्तलका मूर्ति र दुई लाख ६५ हजार बढीको हार्डवेयर्स लगायतका सामान रहेका छन्। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
जिल्लाको महेशपुर, रमपुरवा, विस्नुपुरा, भुजहवा, रामनगर, गुठिप्रसौनी, बसैया लगायतका नाकाबाट अवैध सामान भित्रिने गरेको छ। पछिल्लो समय ति नाकामा प्रहरीको निगरानी बढाइएपछि ठूलो मात्रामा हुने अवैध सामान ओसारपसारमा कमी आएको बताइएको छ।


