सप्तरी,२५ जेठ। सप्तरी जिल्ला रूपनी गाउँपालिका–६ तेरहौतामा बसोबास गर्दै आएकी कौशला देवी चौधरी आफ्नै घरमै लुटिएकी छिन्। आइतबार राति करिब २ बजेको समयमा उनी घरबाहिर सुतिरहेको अवस्थामा लुटपाटको शिकार बनेकी हुन्।
गर्मीका कारण खुला आकाशमुनि सुतिरहेकी चौधरीको कान र नाकमा लगाइएको सुनको गहना लुटेराहरूले लुटेर लगेका हुन्। उनका अनुसार, सुनको कुण्डल र फुली सहित दुई तोलाभन्दा बढी गहना लुटिएको छ।
पति र छोरा वैदेशिक रोजगारीमा रहेको र घरमा छोरा मान्छे नभएको मौकामा लुटेराहरूले बुहारी र आफू मात्रै भएको बुझेर योजना अनुसार चोरी गरेको चौधरीको भनाइ छ।
लुटेराहरूले गहना लुटिसकेपछि घरभित्र पसेर ताल्चा खोल्ने कोसिस गरेका थिए। त्यसक्रममा आवाज सुनिएपछि चौधरीले चिच्याउँदै सहयोग मागेपछि लुटेरा डराएर भागेका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय रूपनी सक्रिय भएको छ। घटनासम्बन्धी अनुसन्धान सुरु भइसकेको र दोषीहरूको पहिचान तथा खोजी जारी रहेको जानकारी प्रहरी नायब निरीक्षक पम्बर यादवले दिनुभयो।


