लागुऔषध नियन्त्रणमा लिने क्रममा भागेका युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २७, सोमबार (८ महिना अघि)
  • ३ पटक पढिएको
लागुऔषध नियन्त्रणमा लिने क्रममा भागेका युवक पक्राउ

धनकुटा,२६ जेठ। लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा डिउटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–२ बुढिमोरङका २५ वर्षीय सागर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

जेठ १० गते शनिबार साँगुरीगढी गाउँपालिका–२ सेलेलिङस्थित मोरङको सिमावर्ती क्षेत्रबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्र १–०२–००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक लिम्बूले प्रहरी जवान संजयकुमार थारुलाई धकेलेर जंगलतर्फ फरार भएका थिए। उनले धकेलेर लड्दा प्रहरी जवान थारु घाइते भएका थिए।

लिम्बू फरार भएसँगै निरन्तरको खोजतलासपछि आइतबार साँझ धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ चिसापानीबाट को २० प १८९८ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।

धनकुटाको बुढिमोरङबाट मोरङको केराबारीतर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई छलेर लिम्बू भागेका थिए।

लिम्बूलाई पक्राउ गरेसँगै उनीविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ तथा मुलुकी संहिताको दफा ६६ अन्तर्गत राष्ट्रसेवकलाई बाधाविरोध गर्न नहुने विरुद्धको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस