रौतहटको फतुवा विजयपुरमा विज्ञापन प्रकाशन नगरी भुक्तानी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २७, सोमबार (८ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको फतुवा विजयपुरमा विज्ञापन प्रकाशन नगरी भुक्तानी

रौतहट,२६ जेठ। सूचना प्रकाशन नगरी बिल भुक्तानी गरिएको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, दुई वटा पत्रिकाका प्रतिनिधि, सम्पादक र प्रकाशकलाई संलग्न देखाउँदै मुद्दा अगाडि बढाएको हो।

मुद्दामा फतुवा विजयपुर नगरपालिका–४ का कृषकहरूका लागि औषधि स्प्रे ट्यांकी वितरण प्रक्रियामा अनियमितता गरिएको आरोप छ। आर्थिक वर्ष २०७८/७९ मा उक्त स्प्रे ट्यांकी खरिदका लागि बोलपत्र आह्वान गरिएको दाबी भए पनि, विज्ञापन प्रकाशन नभएको खुलेको हो। नगरपालिकाले जनसवाल राष्ट्रिय दैनिक र तराई पोस्ट नामक पत्रिकामा सूचना छापिएको भनी दाबी गरे पनि प्रेस काउन्सिल नेपालले यी दुबै पत्रिकामा सो सूचना नभएको पुष्टि गरेको छ।

आरोप अनुसार सूचना नछापीकन नक्कली पत्रिका र बिल तयार पारेर रकम भुक्तानी गरिएको हो। यसै आधारमा जनसवाललाई १ लाख ७२ हजार ८२५ र तराई पोस्टलाई ३९ हजार ४०० रुपैयाँ गरी कुल २ लाख १२ हजार २२५ रुपैयाँको अनियमित भुक्तानी गरिएको बताइएको छ।

यसैगरी, तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादवलाई मुख्य अभियुक्तसरह कारबाहीको माग गरिएको छ भने जनसवालका सम्पादक रामजी बगालेलाई मतियारको भूमिकामा राख्दै सजाय मागिएको छ। प्रकाशक रूपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० रुपैयाँको बिगो कायम गर्दै सोहीअनुसार कारबाही गर्न माग गरिएको छ। अख्तियारका अनुसार, सबै प्रतिवादीले जानाजान झुटा कागजात प्रयोग गरी राज्यलाई आर्थिक क्षति पुर्‍याएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस