वीरगञ्ज,२८ जेठ। सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट अबैध रूपमा ल्याइएका झण्डै १४ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री बरामद गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा बरामद सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
प्राप्त जानकारी अनुसार, टोलीले वीरगञ्ज महानगरपालिका–१० बजरंगटोलस्थित ‘सुधा कुञ्ज’ नामक तीनतले पक्की घरको भुइँतलामा धिरज रौनियारले भाडामा लिई गोदामको रूपमा राखिएका ७,७०,५०० रुपैयाँ बराबरको कपडा र भारतीय नम्बर प्लेट BR05U4530 भएको SUPER SPLENDOR मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकलको अनुमानित मूल्य १,५०,००० रुपैयाँ रहेको जनाइएको छ।
यसका साथै, सोही गुल्मले वीरगञ्ज महानगरपालिका–१० र १६ स्थित विभिन्न सीमा नाकाबाट भन्सार छली गरी ल्याइएका २,४८,१०० रुपैयाँ बराबरका कपडा तथा मसला सामग्रीहरू समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
अर्कोतर्फ, सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीबाट भारतबाट अबैध रूपमा ल्याइएको किराना सामग्रीसहित भारतीय नम्बर प्लेट BR 22 T1432 रहेको मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त किराना सामानको मूल्य २३,३८० रुपैयाँ तथा मोटरसाइकलको अनुमानित मूल्य १,८०,००० रुपैयाँ रहेको जनाइएको छ।
समग्रमा, सशस्त्र प्रहरीले आजका विभिन्न अपरेशनहरूबाट १३ लाख ७१ हजार ९८० रुपैयाँ बराबरका सामानहरू नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो। सशस्त्र प्रहरीको सतर्कता र संयुक्त कार्यवाहिले अबैध व्यापार नियन्त्रणमा सशक्त प्रभाव परेको जनाइएको छ।