भैरहवा,२८ जेठ। अवैध रुपमा भैरहवा नाका हुँदै नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृतिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृतिम यौन खेलौना रुपन्देही प्रहरीले भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अर्न्तगत बाइपासबाट नियन्त्रणमा लिएको हो ।
उक्त कृतिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उतर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उतर प्रदेश कन्नौउ जिल्ला पुर्वा गाउ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ति सामान अवैध रुपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
उनका अनुसार, पक्राउ गरिउको कृतिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । थप अनुशन्धानका लागि पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुशन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी सापकोटाले बताए ।