वर्तमानकाल सम्वाददाता
जेष्ठ २९, रौतहट
हालै सामाजिक सञ्जाल फेसबुकमा कटहरिया नगरपालिकासँग सम्बन्धित खानेपानी समस्यालाई लिएर भएको एक अडियो संवाद सार्वजनिक भएपछि त्यसले कटहरिया नगरमा ठूलै चर्चा पाएको छ । सार्वजनिक अडियोमा नगर प्रमुख अजय प्रकाश जैसवाल र स्थानीय संचारकर्मी रविन्द्र प्रजापति बीच गालीगलौज भएको सुनिन्छ । तर, उक्त अडियोलाई पूर्णरूपमा अस्वीकार गर्दै नगर प्रमुख जैसवालले यसलाई कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) प्रयोग गरी बनाइएको नक्कली अडियो भएको दाबी गरेका छन् ।
नगर प्रमुख जैसवाल पत्रकारसंग कुराकानी गर्दै भने, “मैले कुनै प्रकारको अभद्र भाषा प्रयोग गरेको छैन । त्यो अडियो मेरो स्वर जस्तो भए पनि त्यो मेरो नभई प्रविधिको दुरुपयोग गरेर बनाइएको हो। म जनताका लागि काम गर्न चाहन्छु, न कि विवाद सिर्जना गर्न।”
कटहरिया नगरपालिकामा पछिल्लो केही हप्तादेखि खानेपानीको आपूर्ति अबरुद्ध छ । स्थानिय जनताले यसबारेमा गुनासो गर्दै आएका छन् । सोही समस्यालाई लिएर पत्रकार प्रजापतिले आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै नगर प्रमुखको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । उनले लेखेका थिए कि “नगर प्रमुखको लापरवाहीका कारण कटहरिया नगरवासी शुद्ध खानेपानीबाट वञ्चित भएका छन् ।”
यस स्टेटसलाई लिएर नगर प्रमुख अजय प्रकाश जैसवालले पत्रकार प्रजापतिलाई सम्पर्क गरेका थिए । प्रमुख जैसवालका अनुसार, उनले पत्रकारलाई कुनै समाचार लेख्दा पूर्णरूपमा बुझेर लेख्न अनुरोध गरेका थिए, तर सोही कुरालाई तोडमोड गरी उनको आवाजमा गालीगलौज गरिएको अडियो बनाएर भाइरल गरिएको हो ।
एआईद्वारा चरित्र हत्या गरिएको आरोप
नगर प्रमुख जैसवालले उक्त अडियोमा देखिएको संवाद आफूले बोलेको नभई AI प्रविधिको प्रयोग गरेर आवाज नक्कल गरिएको बताए । उनले थपे, “यो मेरो गरिमामय पदप्रति आक्रमण हो । मेरो सामाजिक छविमा आँच पुर्याउने नियतले यस्तो षड्यन्त्र गरिएको छ ।”
उक्त घटनाले सामाजिक सञ्जालमा समेत दुई धारको बहस सिर्जना गरेको छ । केहीले पत्रकारिताको स्वतन्त्रतामा हस्तक्षेप भएको बताएका छन् भने केहीले प्रविधिको गलत प्रयोगले व्यक्तिको चरित्र हत्या गर्न मिल्दैन भन्ने तर्क राखेका छन् ।
नगर प्रमुख जैसवाल अनुसार “हामीले खानेपानी समस्याको समाधानका लागि बोर्ड बैठक गरिसकेका छौं । केही प्राविधिक समस्याका कारण आपूर्ति प्रभावित भएको हो । चाँडै नै समाधान गरिनेछ ।” साथै उनले पत्रकारहरुलाई पनि आग्रह गरे कि सार्वजनिक संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नु अघि सत्य तथ्य बुझ्न र पुष्टि गर्न आवश्यक छ ।