वीरगञ्ज,०१ असार। बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा केटाकेटीको सामान्य विषयलाई लिएर एक ५० वर्षीय पुरुषको ज्यान गएको छ । स्थानीय ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार जेठ २९ गते साँझ केटाकेटीको विवादलाई लिएर उमेश जयसवालसहित उनका परिवारजनले कुर्मीलाई कुटपिट गरेका थिए । जयसवाल परिवारले कुर्मीलाई कलैया–१४ स्थित उमेश कलवारको राइस मिलबाट समातेर लागि निर्घात कुटपिट गरेका थिए ।
गम्भीर घाइते कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पुर्याइएको थियो । तर, अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
घटनाको भोलिपल्ट मृतकका परिवारजनले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीमा उमेश जयसवाल, उनकी पत्नी रञ्जु जयसवाल, छोराहरू अमित, सुमित र सुजित जयसवाल तथा उमेशका मामाका छोरा दिगम्बर जयसवाललाई प्रतिवादी बनाइएको छ ।
बारा प्रहरी प्रहरी, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले हाल दिगम्बर जयसवाललाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनले घटनापछि घर छाडी फरार रहेका अन्य पाँच जनाको खोजी कार्य तीव्र रूपमा भइरहेको पनि बताएका छन् ।
प्रहरीले घटनालाई गम्भीर आपराधिक कर्तुतका रूपमा हेरेको र दोषीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने जनाएको छ । घटनाले सामान्य विवादलाई लिएर समेत ज्यान जाने स्थिति सिर्जना हुनसक्ने अवस्थाको सङ्केत दिएको छ ।


