वीरगञ्ज,०२ असार। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित ब्रोइलर चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।
पर्सा जिल्लाको धोबीनी गाउँपालिका–१ घोडदौडमा एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरिएका २४ कार्टुन (कुल २,४०० वटा) ब्रोइलर चल्लाहरू पक्राउ परेका हुन्। सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहका अनुसार चल्ला लोड गरिएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा पर्सा, जगन्नाथपुर गाउँपालिका–२ जानकीटोलका अन्दाजी ४५ वर्षीय नवि देवान रहेका छन्। नियन्त्रणमा लिइएका प्रतिबन्धित चल्लाहरू सम्बन्धित जनप्रतिनिधि, सञ्चारकर्मी र क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, पक्राउ परेका व्यक्ति र मोटरसाइकल थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा यस्ता गतिविधि रोक्न निगरानी कडा पारिएको जानकारी गराएको छ।


