काठमाडौं,०२ असार। इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ निवासी राजु स्याङतान रहेका छन्। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जेठ ३१ गते साँझ ७ बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार, स्याङतानको ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर लुकाइएको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्तोल, त्यसको एक थान म्यागजिन र १३ राउण्ड गोली फेला परेको हो। त्यस्तै, स्याङतानकै गोठमा मैकैको खोस्टाभित्र लुकाइएको अवस्थामा अर्को कटुवा पेस्तोल र थप १२ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, उनको घरबाट अफिमजस्तो देखिने करिब १ किलो ३१० ग्राम गिलो पदार्थ र २२ किलो ८ सय ग्राम गाँजा समेत फेला परेको छ। प्रहरीले स्याङतानलाई लागुऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी ७ दिनको लागि अनुसन्धान थालिएको जानकारी दिएको छ।


