सुनसरीको धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (८ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

सुनसरी,०२ असार। सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट करिब २१ सय किलोग्राम अवैध लागुऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट आइतबार प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानको टोलीले रोकेर जाँच गरेको थियो । जाँचका क्रममा ट्रकमा तरकारी र अदुवाका बोराले छोपेर लुकाइछिपाइ ल्याइएको ७० बोरा गाँजा फेला परेको हो । ट्रकमा ३१ बोरा अदुवा र तरकारी पनि भेटिएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिने क्रममा चालकसहित संलग्न व्यक्तिहरू भने फरार भएका छन् ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले विशेष सूचनाको आधारमा ठुलो परिमाणमा गाँजा बरामद गरिएको बताए ।   उनले भने, ‘भेडेटार क्षेत्रबाट ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि हाम्रो टोलीले निगरानी बढाएको थियो । सोही क्रममा धरानमा ट्रक नियन्त्रणमा लिन सफल भयौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस