
सर्लाही,०३ असार। सुनसरीको रामधुनी नगरपालिका–२, शिवनगरमा बाख्रा चोरी गर्न आएको समूहमाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। चोरीको प्रयासमा संलग्न व्यक्तिहरूलाई स्थानीयले समाउने क्रममा झडप भएपछि एक जनाले खुकुरी प्रहार गरेका थिए।
इलाका प्रहरी कार्यालय झुम्काका प्रहरी निरीक्षक सुजन मुदेलका अनुसार मृत्यु हुनेमा रामधुनी नगरपालिका–४ का २८ वर्षीय राकेश चौधरी रहेका छन्। उनी बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमा थिए।
घटनामा संलग्न रहेको ( खुकुरी प्रहार गरेको ) आरोपमा रामधुनी–२ का स्थानीय ३५ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चोरीको प्रयास गरिरहेको देखेपछि सन्तोषले आक्रोशमा आएर खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि बिराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ।
