रमेश कुमार यादब
असार ०३, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८२\८३ का लागि ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्दै समयभन्दा अगाडि नै नगरसभा सम्पन्न गरेको छ । प्रत्येक वर्षको असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने नगरसभा यसपटक असार १० गतेको समयसीमा अगावै, असार ३ गते नै सम्पन्न गरिएको हो । यस उपलब्धिसहित कटहरिया नगरपालिका जिल्लामै दोस्रो स्थानमा रही समयमै नगरसभा सम्पन्न गर्ने स्थानीय तह बनेको छ ।

नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो। नगरप्रमुख जैसवालले प्रस्तुत गरेको बजेट अनुसार कुल ५४ करोड बढीको अनुमानित बजेटमा विभिन्न स्रोतबाट प्राप्त हुने रकम निम्नानुसार उल्लेख गरिएको छ ः
आन्तरिक आयबाटः ४ करोड रुपैयाँ, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानः १० करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानः २० करोड ३२ लाख ५० हजार ९७२ रुपैयाँ, संघीय राजश्व बाँडफाँटः १० करोड २८ लाख ६१ हजार ३७१ रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरणः ७५ लाख ६५ हजार रुपैयाँ ,प्रदेश राजश्व बाँडफाँटः ६१ लाख ७४ हजार ८९० रुपैयाँ, स्थानीय तह राजश्व बाँडफाँटः ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ

नीति तथा कार्यक्रमहरू
नगरप्रमुख जैसवालले आगामी वर्षमा नगरवासीलाई लक्षित गर्दै प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरूमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, खानेपानी, सरसफाइ, पर्यटन, सामाजिक समावेशिता, वातावरण तथा प्रशासनिक सुधारमा जोड दिइएको छ । प्रस्तुत नीति अनुसारः स्वास्थ्य क्षेत्रमाः नगर भित्रका नागरिकलाई संक्रमणजन्य रोग तथा अन्य सबै किसिमका रोग र विपद्बाट जोगाउने उपायहरू लागू गरिनेछ ।
सार्वजनिक सेवा : जनजीवनलाई सहज र सुरक्षित बनाउने कार्यमा प्राथमिकता दिइनेछ । कृषि, पशुपालन र मत्स्यपालनः उत्पादकत्व बढाउने, व्यावसायिक बनाउने र रोजगारी सिर्जना गर्न सहयोग गरिनेछ ।
प्रविधिको प्रयोग : योजनाहरूको संचालनमा सूचना प्रविधिको प्रयोग गरेर कार्यान्वयनलाई छरितो बनाइनेछ । सशक्तिकरण ः लक्षित वर्ग (महिला, दलित, अपांगता भएका व्यक्ति, पिछडिएको समुदाय) लाई सशक्तिकरण कार्यक्रममार्फत समावेशी विकासमा समेटिनेछ ।
खानेपानी : प्रत्येक वडा, टोल र बस्तीमा स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गरिनेछ ।
शिक्षा, सहकारी, पर्यटन र पूर्वाधारः तीव्र विकासको लक्ष्य अनुरूप सम्बद्ध क्षेत्रहरूको विस्तार गरिनेछ ।

राजश्व परिचालन र वित्तीय व्यवस्थापन : पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यान्वयन प्रणाली लागू गरिनेछ ।
नागरिक सुनुवाइ : सेवाग्राहीको गुनासो सुन्ने र समाधान गर्ने प्रक्रिया अझ प्रभावकारी बनाइने छ । त्यति मात्र नभएर नगर प्रमुख जैसवालले भने तीन वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले नगरमा सञ्चालन अवस्थामा रहेको र अब सञ्चालन हुने विकास निर्माणका काम बारे जानकारी दिएका थिए । भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा नगरले उल्लेखनिय काम गर्न सकेको पनि उनले बताए ।
कार्यक्रममा कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देवी, वार्ड नं.३ का वडाअध्यक्ष श्यामाकान्त यादब, वार्ड नं.८ का समिश बिक्रम साह , प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर लहेरा, नेपाल पत्रकार महासंघको अध्यक्ष संजय कुमार कार्की, बरिष्ठ पत्रकार शिव पुरी लगायत जनप्रतिनिधि, स्थानीय कर्मचारी, सर्वसाधारण तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नगरप्रमुख जैसवालले बजेट र कार्यक्रममार्फत नगरलाई आत्मनिर्भर, व्यवस्थित र समृद्ध बनाउने दृढता व्यक्त गरेका छन् ।


